सहमतिका लागि एमालेसँग पहल गर्ने प्रधानमन्त्री–सभामुख भेटवार्ताको निष्कर्ष
वि.सं.२०८० भदौ १ शुक्रवार १०:५८
shares

संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ ।
बालुवाटारमा भएको छलफलमा सभामुखले संसद निरन्तर अवरोध हुनु राम्रो नभएको भन्दै पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
प्राकृतिक विपत्तिलगायतका विषयमा सांसदहरूले बोल्न नपाएको गुनासो गरेको भन्दै घिमिरेले दलीय सहमतिविना सदन अघि बढ्न नसक्ने स्मरण गराए ।
‘कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् । समितिको नेतृत्व चयन हुन सकेको छैन । संसदमा कानून निर्माण भएनन् भन्ने गुनासो छ । सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन ।’, सभामुख घिमिरेले भनेका थिए, ‘शीर्ष नेताहरू नै घण्टौं बस्दा पनि सहमति भएन ।’
जवाफमा प्रधानमन्त्री दाहालले संसद खुलाउन आफूले भूमिका खेल्ने बताएका छन् । उनले यस विषयमा एमाले नेतृत्वसँग कुरा गर्ने र सहमतिको पहल लिनेसमेत बताएका छन् ।

























