गृहपृष्ठ कागबेनीमा बाढीको वितण्ड : २९ घरमा पूर्ण क्षति
कागबेनीमा बाढीको वितण्ड : २९ घरमा पूर्ण क्षति
मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले पुर्याएको भौतिक संरचनाको आज प्रारम्भिक विवरण संकलन र प्रभावितको व्यवस्थापन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति, प्रशासन कार्यालय, सुरक्षा निकाय र गाउँपालिकाले आइतबार राति आएको बाढीले पुर्याएको भौतिक संरचनाको क्षति विवरण संकलन र घरवास गुमाएकालाई सुरक्षित ठाउँमा व्यवस्थापन गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष रिनजिङ गुरुङले २९ वटा घर र नौ वटा गोठमा बाढीले पूर्णरूपमा क्षति गरेको जानकारी दिए । ती घरहरुमा बस्नै नमिल्ने बनाएको छ ।
गाउँपालिकाको केन्द्र र धार्मिकस्थल रहेको कागबेनीमा तिरिखोला थुनिएर कागखोलामा आएको बाढी आइतबार राति ८ बजेको समयमा बस्तीभित्र पसेको थियो । पूर्वसूचना पाएका कारण स्थानीयवासीले भागेर ज्यान बचाए पनि ठूलो धनमालको नोक्सानी जोगाएका थिए ।
गाउँको बीच भाग भएर बग्ने कागखोलामा मान्छे र मोटरसाइकल वारपार गर्न बनाइएको तीन वटा पक्की, एउटा झोलुङ्गे र एउटा काठको पुल ध्वस्त बनाएको छ । जोमसोम–कोरला सडकअन्तर्गत कागखोलामा निर्माणाधीन मोटरेबल पुलको स्पाम बगाउँदा उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकासँग यातायात सम्पर्क विच्छेद भएको छ ।
कागबेनी प्रहरी चौकी, वडा कार्यालय, धर्मशाला, श्रद्धास्थल, एउटा गुम्बा, एउटा मन्दिर, आमा समूहको स्नान गृहसहित र मिलन युवा क्लबको भवन, दुई तले हटरुम भवन पूर्णरूपमा क्षति भएको छ । गुम्बा नजिकै राखिएका दुई गाडी, ३० वटा स्कुटर र मोटरसाइकल बाढीले पुरेको र बगाएको अध्यक्ष गुरुङले बताए ।
प्रकाशित समय : ०९:३४ बजे


















