भरतपुरमा आँखा बिरामीको भीड
वि.सं.२०८० साउन २२ सोमवार ११:२७
shares

आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन र औषधिको आपूर्तिमा कठिनाइ हुने देखिएको छ ।
चितवन र आसपासका जिल्लामा आँखा उपचार सेवा दिँदै आएको यस अस्पतालअन्तर्गतका अस्पताल र केन्द्रमा आइतबार दुई हजार तीन सय ५७ जनाले सेवा लिएका थिए । अस्पतालका वरिष्ठ प्रशासक दयाशङ्कर चौधरीका अनुसार अन्य समयमा एक हजार दुई सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गर्दथे ।
अस्पताल आएकामध्ये ६० प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगका बिरामी रहेका छन् । आइतबार भरतपुरमा रहेको मुख्य अस्पतालमा नौ सय ७३, सेकेण्डरी आँखा अस्पताल ठोरीमा ६६ , कावासोतीमा एक सय ९३ र सिम्रनगढमा एक सय दुई जनाले उपचार लिएका छन् ।
अस्पतालमा आवद्ध १४ आँखा उपचार केन्द्र छन् । तीमध्ये चिकुमार–विष्णुकुमारी बहिरङ्ग सेवा भरतपुर उकालोमा दुई सय ३८, पर्सामा एक सय ६३ , रत्ननगरमा एक सय २८ , माडीमा ९६ , चनौलीमा ६५ , राप्तीमा ६१ र कुरिनटारमा २५ जनाले सेवा लिएका छन् ।
यसैगरी धादिङको बेनिघाटमा १६ , सल्यानटारमा १३ , नवलपरासीको मध्यविन्दुमा ४४ , हुप्सेकोटमाम ४० , सिन्धुलीको दुधौलीमा १७ , तनहुँको आँबु खैरहनीमा ६३ र सर्लाहीमा ५५ जनाले सेवा लिएका वरिष्ठ प्रशासक चौधरीले जानकारी दिए ।
बिरामी बढेसँगै औषधिसमेत अभाव हुन थालेको छ । उनले औषधि खरिद गर्ने ठाउँबाट माग अनुसारको औषधि आपूर्ति हुन नसकेको बताए ।
अस्पतालका आँखा रोग विशेषज्ञ डा कुमुदिनी सुवेदीले सरसफाइ र सामाजिक दूरीमा ध्यान दिन आग्रह गरेका छन् । उनले समय समयमा हात धुन, हातले आँखा नछुन, सङ्क्रमित बिरामीबाट टाढै रहन सुझाव दिए । उनले चिकित्सकको परामर्शपछि मात्रै औषधिको प्रयोग गर्नुपर्ने बताए । आफूखुसी औषधि किनेर प्रयोग नगर्न उनको सुझाव छ ।

























