खीर दिवस : दूधमा आत्मनिर्भरको लक्ष्य पछयाउँदै नेपाल
वि.सं.२०८० साउन १५ सोमवार ०७:३०
shares

राष्ट्रिय दुग्ध विकास बोर्डले तीन वर्षयता खीर दिवस मनाउँदै आएको छ । आर्थिक वर्ष २०७७ सालबाट बोर्डले यो दिवस मनाउने घोषणा गरेको थियो ।
बोर्डले २०७७ फागुन १५ गते वसेको कार्यकारी समितिको १११ औं बैंठकले साउन १५ गतेलाई खीर खाने दिनको रुपमा (खीर दिवस) मनाउने निर्णय गरेको थियो ।
उक्त निर्णयपछि यो दिवसलाई किसान, कृषि तथा पशुपंन्छी मन्त्रालय र बोर्डले समेत विभिन्न कार्यक्रम गरेर मनाउन थालेका छन् ।
विश्वमा खीर खाने प्रचलन १४ औं शताव्दीवाट शुरु भएको पाइन्छ । पछिल्लो समयमा खीरलाई विश्वमै सम्मानित आहाराका रुपमा लिन थालिएको छ ।
खीर खाने प्रचलनको शुरुवात छिमेकी मुलुक चाईनावाट भएको अनुमान गरिन्छ । खासगरी मध्यपूर्व एशिया, उत्तर अफ्रिका, पश्चिम एशिया, सार्क क्षेत्रमा वढी मात्रामा खीरको प्रयोग हुने गरेको पाईन्छ ।
यूरोप र अमेरीकामा समेत खीर लाई एक विशिष्ट खानाको रुपमा प्रयोग गरेको पाइन्छ ।
हाल खीर विश्वका प्रायजसो मुलुकहरुले विभिन्न नामवाट (भारतको गुजरातमा दूधपाक, वंगालीमा पायस, श्रीलंकार्मा क्रीवाथ) प्रयोग गर्ने गरेको पाइन्छ । नेपालमा पनि खीरलाई राम्रो सम्मानित आहाराका रुपमा खाने गरेका छन् ।
केन्द्रियस्तरमा सरोकारवाला निकायहरु (पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लि, नेपाल डेरी एशोशियसन, डेरी उद्योग संघ, केन्द्रिय पशुपन्छी तथा मत्स्य पालन सहकारी संघ प्रालि र नेपाल डेरी साईन्स एशोशिएसन)ले समेत खीर दिवस मनाउने गरेका छन् ।
दूध मानव जीवनको लागि अति उत्तम खाद्यपदार्थ भित्र पर्ने गरेको नेपाल डेरी एशोशियसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए । जसका कारण नेपालमा उत्पादन भएको दूध अझ राम्रो र गुणस्तरीय हुने गरेको उनले बताए ।
आत्मनिर्भरका लागि ३ लाख लिटर दूध अपुग
नेपालभर औसत दैनिक रूपमा करिब ६ लाख ३९ हजार लिटर दूध संगठित क्षेत्रको माध्यमबाट विक्री–वितरण भई वार्षिक करिब ७ अर्ब रुपैयाँ सहरबाट ग्रामीण क्षेत्रमा प्रवाह भइरहेको कृषि मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं उपत्यकामा मात्र दैनिक ४ लाख ३० हजार लिटर दूध खपत भइरहेको छ । यसर्थ ग्रामीण अर्थतन्त्रको मुख्य आधारस्तम्भ रहेको पशुपालन व्यवसायले स्वरोजगार सिर्जना तथा गरिबी निवारणमा गरेको योगदानकै कारण देश विकासमा यसलाई महत्व दिँदै आएको छ ।
दुग्ध प्रशोधन, ओसारपसार, विक्री–वितरण कार्यमा करिब ३० हजारले प्रत्यक्ष रूपमा रोजगारी पाउनुका साथै देशभर करिब ४ लाख ५० हजार किसान परिवार लाभान्वित भइरहेका छन् ।
स्थानीय उत्पादनले बजार माग धान्न नसकेपछि भारतबाट दैनिक ३० देखि ३५ हजार लिटर दूध आयात हुनेगरेको छ ।
सरकारी स्वामित्वमा सञ्चालन भएको संस्थानले मागअनुसार दूध वितरण गर्न नसक्दा पछिल्लो समय निजी स्तरबाट सञ्चालित डेरीले दूध बजारको आधा हिस्सा ओगटेको छ । जसमा ६० प्रतिशत भैंसीको र ४० प्रतिशत दूध गाईबाट उत्पादन हुने गरेको छ । संस्थानले कृषकहरूसँग दूध संकलन गरी बिक्री गर्दै आएका छन् ।
पछिल्लो समय दूधको उत्पादन नै कम हुन थालेपछि बजार मागअनुसार आपूर्ति गर्न नसकिएको संस्थानहरुले औल्याएका छन् । अहिले पनि बजारमा दैनिक ३ लाख लिटर दूधको अभाव छ । यो दूधको माग पुरा भए नेपालमा दूधमा आत्मनिर्भर हुन्छ ।
बढ्दो जनसंख्यासँगै दूधको माग पनि बढ्दै गएकाले स्थानीय माग पूरा गर्न भारतबाट ठूलो परिमाणमा दूध संस्थानले आयात गर्दै आएको छ । पछिल्लो समय कृषक गाईभैंसी पाल्न छाडी अन्य व्यवसाय सञ्चालन गर्न थालेकाले पनि दूध उत्पादन दिनप्रतिदिन घट्दै गएको छ ।
नेपाल दूधमा आत्मनिर्भर रहेको दाबी एशोशियसनका अध्यक्ष दाहालको छ । सरकारले दूधमा आत्मनिर्भरको घोषणा गरेपनि कार्यन्वयनका लागि बजेट नछुट्याएको उनले बताए । ‘दुग्ध क्षेत्रले नेपाली अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान दिंदै आईरहेको छ । तर, सरकारले व्यवस्थित र बजारीकरण नगर्दा नेपाली दूध उत्पादक किसान मारमा परेका छन् ।’ उनले भने, ‘ मुलुकमा अहिले मागका आधारमा दूध उत्पादन हुन सकेको छैन । दूधको मूल्य बढाउने आधारभूत कारण भनेको दूधको मूल्यमध्ये ६९ प्रतिशत किसान र ३१ प्रतिशत उद्योगलाई उपलब्ध गराउने व्यवस्था छ । तर, यस्तो पनि हुन सकेको छैन ।’
नेपालको कूल ग्रार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एक तिहाई (३१.६९ प्रतिशत) रहेको छ । कूल ग्रार्हस्थ्य उत्पादनमा धानपछि दुग्ध क्षेत्रको रहेको छ ।
विश्व खाद्यन्य संस्थाको अध्ययनमा हरेक व्यक्तिका लागि वार्षिक ९२ लिटर दूध आवश्यक पर्ने भए पनि पछिल्लो तथ्यांकअनुसार नेपालमा दूध उपलब्धता प्रतिव्यक्ति ७८ दशमलव ३५ लिटर पुगेको छ ।

























