मणिपुर हिंसाका कारण नेपाल फर्किन थाले नेपाली
वि.सं.२०८० साउन १४ आइतवार १९:२५
shares

भारतको मणिपुर राज्यमा बसोबास गर्दै आएका ५० हजारभन्दा धेरै नेपालीहरु असुरक्षीत महशुज गर्न थालेका छन् । जसका कारण मणिपुरमा रोजगारी र अन्य पेशा व्यवसायका लागि पुगेका नेपाली फर्किन थालेको कोसी प्रदेशका प्रहरीले जनाएको छ ।
अहिले मणिपुरमा मैतेई समुदायले आफूलाई पनि जनजातिको मान्यता दिनुपर्ने माग राखेपछि कुकी समुदायले विरोध गर्दा तनाव चर्किएको भए पनि अरु धेरै कारणले साम्प्रदायिक हिंसा बढिरहेको हो ।
भारतको पूर्वीराज्य मणिपुरमा विगत तीन महिनादेखि जारी जातीय हिंसाबाट विस्थापितहरू नेपालसमेत आउन थालेका करिब एक सयजना मणिपुरवासी नेपाल आएको प्रतिवेदन सुरक्षा निकायले गृह मन्त्रालयमा बुझाएका थिए ।
नेपालको पूर्वीनाका हुँदै मणिपुरका बासिन्दा नेपाल फर्किन थालेका छन् । गएको दुई सातामा करिब एक सयजना नेपाल भित्रिएको प्रहरीले जनाएको छ । उनीहरु हिंसाकै कारण फर्किएको भन्ने नभएको प्रहरीले जनाएको छ ।
तर, एक महिनायता मणिपुरबाट रोजगारी, कृषि र अन्य पेशाका गएको नेपाली स्वदेश फर्किन थालेको काँकडभिट्टा नाकाले जनाएको छ ।
महिलामाथि दुर्व्यवहार गरेपछि हिंसा भड्किने अशंका
भारतको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएको घटनाको चौतर्फी आलोचना भएको छ । यो घटनालाई लिएर धेरैले सरकारको चर्को विरोध समेत गरिरहेका छन् भने, महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
महिलामाथि यौन दुर्व्यवहारको भिडियोको पुष्टि गर्दै मणिपुर प्रहरीले यी महिलाहरू मे ४ तारिखमा मणिपुरको थौबल जिल्लामा यौन दुर्व्यवहारको शिकार भएको जनाएको विविसिले उल्लेख गरेको छ । प्रहरीका अनुसार घटनामा नचिनेका व्यक्तिविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्याको मुद्दा दर्ता गरेको थियो ।
जातीय हिंसा भइरहेको मणिपुरमा दुई जना महिलालाई निर्वस्त्र बनाएर सडकमा डुलाएको तथा यौन दुर्व्यवहार गरेको भिडियो तीन साता अगाडी सार्वजनिक भएको थियो ।
हिंसा गृहयुद्धतिर
भारतको मणिपुर राज्यमा तीन महिनायता हिंसा भड्किएको छ । मणिपुरका बहुसङ्ख्यक मैतेई समुदाय र कुकी समुदायबीच भएका भिडन्तहरूमा एक सय जना ४२ जनाभन्दा धेरैको ज्यान गइसकेको छ भने १ हजार जनाभन्दा धेरै घाइते भएका छन् ।
मैतेई समुदायले आफूलाई पनि जनजातिको मान्यता दिनुपर्ने माग राखेपछि कुकी समुदायले विरोध गर्दा तनाव चर्किएको भए पनि अरु धेरै कारणले साम्प्रदायिक हिंसा बढिरहेको हो ।
गत ३ मेदेखि मैतेई र कुकी समुदायबीच चलेको हिंसाका कारण मणिपुर अशान्त र तनावग्रस्त छ । पछिल्लो तीन महिलायता एक समुदायले अर्काे समुदायमाथि आक्रमणका घटना समेत बढेका कारण सिंगो राज्यमा सुरक्षा व्यवस्थानै कमजोर भइरहेको छ ।
पछिल्लो साम्प्रदायिक हिंसाबाट गुज्रिरहेको मणिपुरमा पछिल्ला घटनाक्रमले गृहयुद्धको जोखिम बढाएको सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
राज्यमा ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको भए पनि हिंसाका घटनाहरु रोकिएका छैनन् । लडाइँ गरिरहेका दुई समुदायबीच अविश्वासको तह अझै बढेको छ । तीन सय ५० वटा आश्रयस्थलमा ६० हजार विस्थापितहरु कष्टकर जीवन बिताइरहेका छन् । भने, ६० हजार घर परिवार विस्थापित भएको विविसिले जनाएको छ ।
लिबिया, लेबनान, नाइजेरिया, सिरिया लगायतका देशमा जस्तै जुनसुकै बेला नागरिकको जनधनको क्षति पुग्ने जोखिम मणिपुरमा बढेको पनि विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीको रिपोटिङमा भनिएको छ ।
मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास छ । झण्डै ३३ लाख जनसङ्ख्या रहेको मणिपुरमा मैतेई, नागा र कुकी विद्रोहीहरूले लामो समयदेखि सशस्त्र अभियान चलाउँदै आएका छन् ।
राज्यमा विद्यालय र इन्टरनेट सेवा बन्द छ । साढे दुई महिनादेखि रात्रिकालीन कर्फ्यु कायमै छ । प्रदर्शनकारीहरुले दुई सय वटाभन्दा धेरै गिर्जाघर र १७ वटा मन्दिरमा आगजनी गरिरहेका छन् ।
मणिपुर हिंसा भारतीय राजनीतिको केन्द्रमा छ । सरकारले हिंसा दमन गर्न सक्ने अवस्था छैन । जसका कारण मणिपुरको हिंसाका बारेमा धेरै अडकलबाजी भइरहेको छ ।
म्यानमारको सीमासँग जोडिएको मणिपुरमा साम्प्रदायिक हिंसा नौलो नभए पनि यस पटक गृहयुद्धको खतरा बढेको हो ।

























