इटाली भ्रमणलाई सफल भ्रमणका रुपमा लिएको छु : प्रधानमन्त्री दाहाल
वि.सं.२०८० साउन १२ शुक्रवार १३:४८
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो इटाली भ्रमण सफल भएको बताएका छन् । इटाली भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वपूर्ण भेटघाटले भ्रमण सफल भएको छ ।
“भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि एक स्वतन्त्र, सार्वभौम, संयुक्त राष्ट्रसङ्घ र समग्र बहुपक्षीयताप्रति प्रतिबद्ध मुलुकका रुपमा अझ बढी मुखरित हुन पुगेको विश्वास लिएको छु”, उनले भने । सम्मेलनका क्रममा आफू अत्यन्त व्यस्त रहेको जानकारी दिँदै उनले इटालीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा गरेको विकासको अवलोकन गरेको बताए ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घ, इटाली सरकार र रोमस्थित खाद्य तथा कृषि सङ्गठन, विश्व खाद्य कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषद्वारा इटालीको रोममा आयोजित ‘संयुक्त राष्ट्रसङ्घ फुड सिस्टम समिट प्लस २ स्टकिङ मोमेन्ट’ मा नेपालको प्रतिनिधित्व गरेका थिए ।
सम्मेलनमा नेपालको सहभागिता र सम्मेलनको अवसरमा भएका द्विपक्षीय भेटघाटका क्रममा महत्वपूर्ण छलफल भएको उनले जानकारी दिए । प्रधानमन्त्री दाहालले सम्मेलनको उद्घाटन समारोहमा नेपालको सरकार प्रमुख तथा अतिकम विकसित राष्ट्रको अध्यक्षका हैसियतमा सम्बोधन गरेका थिए ।
उनले सम्मेलनको अत्यन्त महत्वपूर्ण सत्रका रुपमा लिइएको ‘खाद्य प्रणालीमा रुपान्तरणको अभ्यास, सफलता र आगामी बाटो’ मा नेपालका प्रतिनिधित्व गर्दै मुख्य वक्ताका रुपमा सम्बोधन गरेको बताए । “सम्मेलनका क्रममा ‘विद्यालय खाजा कार्यक्रमसम्बन्धी सत्र’लाई पनि सरकार प्रमुखको हैसियतमा मैले सम्बोधन गरेँ”, उनले भने ।
सम्मेलनको मुख्य सत्रलाई सम्बोधनका क्रममा आफूले खाद्य सुरक्षा, पर्याप्त, सुरक्षित र स्वस्थ्यकर खाद्यमा सहज पहुँच, दिगो कृषि विकास, गरिबी निवारण, भोकमरीको अन्त्यलगायत ‘एजेन्डा–२०३०’ले निर्देश गरेका उद्देश्य प्राप्त गर्नमा अतिकम विकसित राष्ट्रहरुले भोग्नु परेका समस्याका बारेमा अन्तर्राष्ट्रिय समुदायसमक्ष राखेको प्रधानमन्त्रीले दाहालको भनाइ छ । “अतिकम विकसित मुलुकका करोडौँको सङ्ख्यामा रहेका जोखिममा परेका नागरिकलाई आशाको दियो सञ्चार गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले सामूहिक प्रतिबद्धता देखाउनुपर्ने खाँचो पनि प्रस्ट पारेको छु”, उनले भने ।
प्रधानमन्त्री दाहालले विश्वव्यापी रुपमा देखापरेको जलवायु परिवर्तनलाई थेग्ने दिगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि प्रविधि, मल, बजार, पूँजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको विषयलाई जोडदार रुपमा राखेको बताए । उद्घाटन सत्रलाई संयुक्त राष्ट्रसङ्घका महासचिव, इटालीका प्रधानमन्त्री तथा अन्य मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले समेत सम्बोधन गरेका थिए।

























