global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ कोशी प्रदेशमा ४ वर्षमा १७ सयको मुत्यु, बर्सेनि ८० प्रतिशतले दुर्घटना बढ्दै

कोशी प्रदेशमा ४ वर्षमा १७ सयको मुत्यु, बर्सेनि ८० प्रतिशतले दुर्घटना बढ्दै

कोशी प्रदेशमा ४ वर्षमा १७ सयको मुत्यु, बर्सेनि ८० प्रतिशतले दुर्घटना बढ्दै

कोशी प्रदेशमा बर्सेनि ८० प्रतिशत सवारी दुर्घटना वृद्धि हुने गरेको छ । दुर्घटना वृद्धिहुँदा २६.६४ प्रतिशत मानिसको मृत्युदर बढेको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

गत ४ वर्षमा कोशीको १४ जिल्लामा ११ हजार १६५ वटा सवारी दुर्घटनामा परी १ हजार ७ सय १ जनाको मृत्यु भएको ट्राफिकले जनाएको छ । त्रि–वर्षीय दुर्घटनाको विश्लेषण गर्दा बर्सेनि औसत ८० प्रतिशतले दुर्घटना वृद्धि, २६.६४ प्रतिशतले मानिसको मृत्युमा वृद्धि र २९ प्रतिशतले गम्भीर घाइतेको संख्यामा वृद्धि भएको प्रहरीको तथ्याकंमा छ ।

गत आर्थिक वर्ष २०७८/०७९ मा मात्रै कोशीमा ३ हजार ८ सय २० वटा सवारी दुर्घटनाबाट ५ सय ३१ जनाको मृत्यु, १ हजार १ सय १४ जना गम्भीर घाइते र ५ हजार ४ सय ४५ जना सामान्य घाइते भएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्यामकुमार महतोले बताएका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३ सय २२ वटा सवारी दुर्घटनामा परी ३ सय ३२ जनाको मृत्यु भएको छ । गम्भीर घाइते ७ सय ९१ र सामान्य घाइते २ हजार २ सय रहेको प्रहरीको अभिलेखमा देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढेको देखिएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार १ सय ३१ वटा सवारी दुर्घटनामा परी ४ सय ४४ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १ हजार ८३ जना रहेको ट्राफिक प्रहरीले जनाएको छ । चालु आर्थिक वर्ष २०७९/०८० को असार १७ गते सम्ममा ३ हजार ६ सय ६४ वटा सवारी दुर्घटनामा परी ३ सय ९४ जनाको मृत्यु भएका छन् ।

दुर्घटनालाई नजिकबाट नियाल्दा ५७ प्रतिशत दुर्घटनामा मोटरसाइकल, १६ प्रतिशत दुर्घटना सिटी, ई–रिक्सा तथा टेम्पो र ११ प्रतिशत दुर्घटनामा साना सवारी साधनहरूको संलग्नता रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

अहिले सम्म २ लाख ८५ हजार भन्दा बढी चालकहरू कारबाहीमा परेका छन् । गत आर्थिक वर्षकोे भन्दा ११ प्रतिशतले बढेको ट्राफिक प्रहरीले जनाएको छ । हालसम्म ट्राफिक कारबाहीबाट १९ करोडभन्दा बढी राजश्व उठेको छ ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु