गृहपृष्ठ तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र

दमौली । पूर्वाधार विकास कार्यालय तनहुँले एक वर्षको अवधिमा २२ दशमलव ४२ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०८२।८३ मा कार्यालयले गरेको कालोपत्रका बारेमा जानकारी दिएको हो ।

उक्त आर्थिक वर्षमा ३० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखिएको थियो । कार्यालय प्रमुख रवीन्द्र तिवारीले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न सडकखण्डमा कालोपत्र गर्ने काम अघि बढाइएको बताएका छन्। लक्ष्यअनुसार काम सम्पन्न हुन नसके पनि सडक स्तरोन्नतिमा उल्लेख्य प्रगति भएको उनले उल्लेख गरे ।

सो आवमा १ दशमलव ६७ किलोमिटर कच्ची सडक निर्माण सम्पन्न भएको छ । सो अवधिमा तीन किलोमिटर कच्ची सडक निर्माण गर्ने लक्ष्य थियो । यस्तै, १५ किलोमिटर सडक चौडाइको लक्ष्य राखिएकामा १२ दशमलव ३७ किलोमिटर सडक चौडाइ विस्तार भएको छ ।

तिवारीका अनुसार सडक पूर्वाधारलाई व्यवस्थित बनाउन २१ दशमलव ५९ किलोमिटर नाली निर्माण भएको छ । नाली निर्माणको लक्ष्य २५ किलोमिटर थियो । त्यस्तै सडक संरक्षणका लागि २१ हजार ४२७ घनमिटर पर्खाल निर्माण भएको छ । सो अवधिमा २५ हजार घनमिटर पर्खाल निर्माण गर्ने लक्ष्य राखिएको थियो । तिवारीका अनुसार उक्त अवधिमा ६० वटा कजवे, कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा ५६ वटा कजवे तथा कल्भर्ट निर्माण सम्पन्न भएको छ ।

पुल निर्माणमा भने कार्यालयले शत्प्रतिशत पूरा गरेको छ । सो आर्थिक वर्षमा तीन वटा झोलुङ्गे पुल र तीनवटा सडक पुल निर्माण सम्पन्न भएका छन् । दुवै प्रकारका पुल निर्माणको लक्ष्य तीन–तीन वटा नै थियो । आर्थिक वर्ष २०८१।८२ मा पूर्वाधार विकास कार्यालय तनहुँले ३८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेको थियो ।

त्यसैगरी, २०८१।८२ मा एक दशमलव सात किलोमिटर कच्ची सडक, सात दशमलव चार किलोमिटर ग्राभेल सडक, ४२ किलोमिटर सडक चौडाइ विस्तार, ४५ दशमलव छ किलोमिटर नाली निर्माण, ५३ हजार ६१३ घनमिटर पर्खाल निर्माण भएको थियो । सो वर्ष सात वटा कजवे–कल्भर्ट र तीनवटा सडक पुल निर्माण सम्पन्न भएका थिए ।

कार्यालयका अनुसार सडकको स्तरोन्नति, चौडाइ विस्तार, नाली तथा संरक्षण संरचनासँगै कालोपत्रको कामलाई निरन्तरता दिइएको छ । जिल्लाका सडकलाई थप व्यवस्थित र सुरक्षित बनाउँदै आवागमन सहज बनाउन आगामी वर्ष सडक कालोपत्र तथा स्तरोन्नतिका योजनालाई प्राथमिकतामा राखिएको तिवारीले बताएका छन्।

कार्यालयले सडकतर्फ ७१ करोड ७२ लाख ८२ हजार बजेट विनियोजन गरिएकामा ६१ करोड ७२ लाख ८१ हजार खर्च भएको छ । सडक पुलतर्फ २२ करोड १६ लाख ९६ हजार विनियोजन गरिएकामा रु २१ करोड ७१ लाख ८९ हजार खर्च भएको छ ।

यस्तै, झोलुङ्गे पुलतर्फ ९२ लाख ६९ हजार बजेट विनियोजन भएकामा ९२ लाख छ हजार खर्च भएको छभने सहरी विकास तथा भवनतर्फ ४० लाख विनियोजन भएकामा रु ३३ लाख नौ हजार खर्च भएको छ ।

प्रकाशित समय : ०५:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु