global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ किसानमैत्री नहुँदा धानमा आत्मनिर्भर हुनबाट सरकार चुक्यो

किसानमैत्री नहुँदा धानमा आत्मनिर्भर हुनबाट सरकार चुक्यो

किसानमैत्री नहुँदा धानमा आत्मनिर्भर हुनबाट सरकार चुक्यो

सरकारले २०६१ सालदेखि १५ असारलाई राष्ट्रिय धान दिवस रूपमा मनाउन थालेको हो । यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सरकारले यसवर्षको धान दिवस तथा रोपाईं महोत्सवको नारा ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ प्रमुख खाद्यान्न बाली धानको उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरणलाई प्रवर्द्धन गर्न २० औं राष्ट्रिय धान दिवस मनाइएको हो ।

कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा करिब ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा धान लगाइन्छ ।

झण्डै ३ करोड जनसंख्यामध्ये नेपालमा रहेका लगभग सबैले खानाका रूपमा बिहान बेलुका भात खाने गरेका छन् । पछिल्लो समय धानको माग बढ्दै गएको कृषि विभागले जनाएको छ ।

असारे भाका घन्काउँदै धान रोप्दै असार १५ मनाउने चलन पछिल्लो समय बढेको छ । सामाजिक सञ्जालमा पनि युवापुस्ताले १५ असारमा धान रोपेको तथा हिलो छ्यापाछ्याप गरेका तस्वीरहरूसहित रमाइलो गर्ने प्रचलन बढेको छ ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसाय गर्दै आएका नेपालीले पनि आज दहीच्युरा खाएर १५ असार मनाउने चलन छ । नेपालले वार्षिक अर्बाैँको चामल भारत र अन्य देशबाट आयात गर्दै आएको छ । त्यसमध्ये भारतबाट आयात हुने परिमाण धेरै छ ।

पछिल्ला वर्ष धान, चामल, कनिकालगायतको आयात निरन्तर बढीरहेको छ । ५ वर्षअघि १ वर्षमा करिब ५ लाख ४० हजार मेट्रिक टन आयात भएकोमा गत वर्ष त्यो मात्रा ११ लाख ९० हजार मेट्रिक टनमा पुगेको भन्सार विभागको तथ्यांकमा छ । आगामी आर्थिक वर्षमा त्योभन्दा धेरै धान र चामल आयात हुन सक्ने कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको आँकलन छ ।

सरकारले अघिल्लो आर्थिक वर्षदेखि नै पाँच वर्षभित्र धानमा आत्मनिर्भर बन्ने लक्ष्य राखेको थियो । तर, मौसम, बाढी–पहिरो र मलका अभावका कारण उत्पादन ५७ लाख मेट्रिक टन मात्र धान उत्पादन भएको कृषि मन्त्रालयले जनाएको छ । माग भने ६५ लाख मेट्रिक टन भन्दा धेरै हुने गरेकोले धानको आयात गरिरहनुपरेको मन्त्रालयका विभिन्न अध्ययनमा भनिएको छ ।

चालु आर्थिक वर्षमा मन्त्रालयले गत वर्ष ५८ लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य राखेकोमा ५५ लाख ५० हजार मेट्रिक टन मात्रै उत्पादन भएको थियो । साढे ४ लाख मेट्रिक टन धान वर्षाका कारण नष्ट भएको विभागले जनाएको छ ।

सरकारले नेपाललाई धानमा आत्मर्निभर बनाउने योजना घोषणा गरे पनि वार्षिक ११ लाख मेट्रिक टन धन्दा धेरै धान र चामल आयात हुने गरेको कृषि मन्त्रालयलले जनाएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा ३० अर्ब बराबरको चामल भित्रिएको भन्सार विभागको तथ्यांकमा छ । पछिल्ला केही वर्ष औषतमा १८ लाख मेट्रिक टन धान आयात गर्नुपरिरहेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले जानकारी दिए ।

बजारको मागअनुसार नेपालमा करिब ११ लाख मेट्रिक टन धान उत्पादन बढाउनुपर्ने चुनौती रहेको कृषि विभागका महानिर्देशक केसीले बताए । ‘सरकारले आगामी ५ वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ उत्पादन बढाउने गरी काम गरिरहेको छ । नेपालमा हिउँदे र बर्खे धान खेती हुन्छ । यी दुवै मौसमी धान उत्पादनमा जोड दिनुपर्छ । बेमौसमी वर्षाका कारण सरकारी लक्ष्यअनुसार धान उत्पादन हुनसकेको छैन ।’ उनले भने, ‘पछिल्लो समय रासायनिक मल नपाउँदा त्यसको असर धान उत्पादनमा परिरहेको छ । २ सय ३० स्थानीय तहमा धानको बीउ प्रवर्द्धनका कायक्रम लागू हुँदैछ । प्रविधिहरूको प्रयोग, मलखादको उचित सदुपयोग तथा उपलब्ध जातहरूको प्रयोगबाट नेपालको धानको उत्पादकत्व सहजै ४ देखि ५ लाख मेट्रिक टनमा बढाउन सकिन्छ ।’

समस्याबीच उत्पादन बढ्दो

विगत ९ वर्षयता नेपालमा धान उत्पादनमा पनि वृद्धि भइरहेको सरकारी तथ्यांक छ । चालु आर्थिक वर्षमा २०७७/०७८ मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांक छ ।


आर्थिक वर्ष २०७९/८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको थियो । यो गत वर्षको यही अवधिको तुलनामा ६.९४ प्रतिशतले बढी हो । गत वर्ष बाली भित्र्याउने समयमा परेको बेमौसमी वर्षाका कारण तराईका विभिन्न जिल्लामा खेती नष्ट हुँदा देशमा धानको उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टनमा सीमित भएको थियो ।

विभागका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा ५२ लाख ३० हजार, २०७४/०७५ मा ५१ लाख ५१ हजार, २०७५/०७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै २०७६/०७७ मा ५६ लाख २० हजार र चालु आर्थिक वर्षमा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ ।

प्रकाशित समय : ०७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु