गृहपृष्ठ महानगरको बजेटमा कृषि, यस्ता छन् योजना

महानगरको बजेटमा कृषि, यस्ता छन् योजना

महानगरको बजेटमा कृषि, यस्ता छन् योजना

महानगरपालिकाहरुले आगामी वर्षको बजेटमा कृषिलाई प्रथामकितामा राखेका छन् । महानगरपालिकाले कृषिमा उत्पादन बढाउन, भण्डारन गर्ने, विउविजन बाँडने र किसानलाई केही सहुलियत दिने योजना समेत सार्वजनिक गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले कृषि तथा पशुपंक्षीतर्फ ‘एग्रोपुलिङ’ को अवधारणा अघि सारेको छ । कृषिउपजको बिक्रीवितरण तथा भण्डारण गर्नका लागि संस्थागत प्रबन्ध गर्न महानगरले ‘एग्रोपुलिङ’ को अवधारण अघि सारेको हो ।

यो कार्यक्रमका लागि महानगरले कूल १ करोड रकम विनियोजन गरेको छ । महानगरवासीलाई अर्गानिक तरकारी, फलफूल तथा माछामासु र अन्य खाद्यवस्तुको सहज उपलब्धताका लागि यो कार्यक्रम ल्याइएको हो ।

महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परिक्षण गर्न विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि महानगरले १ करोड ५० लाख रकम विनियोजन गरेको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालूतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार गरी कूल २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ ।

काठमाडौं जस्तै पोखरा महानगरपालिकाले स्थानीय कृषि उपजहरूको संकलन गरी उपभोक्तासमक्ष पुरÞ्याउन सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउनका लागि १५ लाख बजेट विनियोजन गरेको छ ।

महानगरले थप स्थानमा किसान हाट बजार निर्माण, मेला तथा महोत्सव सहयोगलगायतका प्रवर्द्धनात्मक कार्यक्रमका लागि १ करोड ६ लाख विनियोजन गरेको छ ।

महानगरले आगामी आवका लागि ७ अर्ब १५ करोड १५ लाख रुपैयाँबराबरको अनुमानित बजेट ल्याएको छ । जसअन्तर्गत महानगरपालिकाले कृषि प्रसार, संवाद र प्रविधि हस्तान्तरणअन्तर्गत आकस्मिक बाली संरक्षण, आइपीएम प्रविधि, प्राथमिक कृषि प्रविधि प्रचार जस्ता कार्यक्रमका लागि ४२ लाख विनियोजन गरेको छ ।

व्यवसायिक पशुपंक्षी उत्पादन कार्यक्रमअन्तर्गत बाखा पकेट कार्यक्रमलाई थप विस्तार गर्नका लागि १५ लाख, व्यावसायिक फार्म सुदृढीकरणका लागि ३० लाख, छाडा पशुपंछी व्यवस्थापनका लागि ३० लाख र बाँझो जग्गामा घाँस लगाउनेलाई प्रोत्साहनबापत १५ लाख विनियोजन गरेको छ ।

यसैगरी महानगरले पशुपन्छी उपचारका लागि पशु सेवा केन्द्रमार्फत निःशुल्क आधारभुत औषधि वितरणका लागि ३३ लाख, नियमित खोप कार्यक्रम, पशु स्वास्थ्य शिविर र कृतिम गर्भाधान कार्यक्रमलगायत पशुतर्फका कार्यक्रम सञ्चालन गर्न २ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

यस्तै, भरतपुर महानगरपालिकाले कृषकलाई दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भएको तेह्रौँ अधिवेशनमा महानगर प्रमुख रेनु दाहालले कृषि र पशुपन्छी क्षेत्रको विकासका लागि कृषकलाई यस्तो अनुदान दिइने बताएकी हुन् ।

यसअघि यही कार्याक्रममार्फत महानगरले ११ हजार ५ सय कृषकलाई ६ करोड १२ लाख अनुदान उपलब्ध गराइएको थियो । मेयर दाहालले यस कार्यक्रमलाई पुनः निरन्तरता दिने बताएकी छिन् ।

महानगरले समग्रमा कृषि क्षेत्रका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरको बजेटमा कृषि प्रविधि प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ ।

महानगरले कृषि क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रीकरण गर्ने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । यस्तै महानगरभित्रका खेतीयोग्य जमिनमा सिँचाइको पर्याप्तता सुनिश्चितता गर्न भइरहेका जीर्ण अवस्थाका नहर तथा कुलोको मर्मत गर्ने तथा कृषकहरूलाई साना सिँचाइमा अनुदान दिने नीतिलाई पनि महानगरले निरन्तरता दिने उनले बताइन् ।

महानगरपालिकालाई उन्नत बीउ उत्पादनको हबका रूपमा विकास गर्नेका लागि खाद्यान्न बीउ उत्पादन गर्ने कृषकलाई उत्पादन परिमाणका आधारमा अनुदान दिने उनले बताइन् ।

प्रकाशित समय : १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु