गृहपृष्ठ बिमा भनेको के हो ?
बिमा भनेको के हो ?
आर्थिक नोक्सान हुँदा दिइने क्षतिपूर्तिको ग्यारेन्टीलाई सामान्यतया बिमा भन्ने गरिन्छ ।
बिमा गर्दा बीमित (बिमा गर्ने व्यक्ति) र बीमक (बिमा गरिदिने कम्पनी)बीच सम्झौता हुन्छ । भोलि कसलाई के हुन्छ भन्ने निश्चित नै छैन । आर्थिक तथा भौतिक क्षति जे पनि हुन सक्छ । त्यसैले भोलिका दिनहरुमा सम्भावित जोखिमबाट बच्न गरिने एक प्रकारको सुरक्षाको सम्झौतालाई बिमा भनिन्छ । अनिश्चित जोखिम, दुर्घटनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिमअनुसार निश्चित बिमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्तसहित बिमा योजना (बिमालेख) खरिद गर्न सक्छन् ।
बिमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो । यसले बिमा गराउने र बिमा गर्ने दुवै पक्षलाई फाइदा पुग्छ । बिमा भनेको बिमा कम्पनी र बिमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बिमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ । बिमा दुई प्रकारका हुन्छन् । जीवन र निर्जीवन बिमा ।
जीवन बिमा
जीवन बिमा बचत र लगानी दुवै हो । जीवन बिमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन हो । बिमा कम्पनीमा जसको बिमा गरेको हुन्छ उसले किस्ताबन्दीमा पैसा बुझाइरहन्छ । यदि बिमा गर्ने कुनै पनि व्यक्ति कुनै घटनामा परे वा कुनै क्षति भयो भने बिमा कम्पनीले त्यस्तो क्षतिपूर्ति बहन गर्छ । तर बिमा गर्ने व्यक्तिको कम्पनीले सम्झौता अनुसार तोकेको समय अवधिसम्म कुनै घटना भएन भने बिमा कम्पनीहरुले प्रतिफलसहित सो रकम बीमितलाई फिर्ता गर्दछन् । जीवन बिमाका विभिन्न प्रकार हुन्छन् । आजीवन बिमा, सार्वधिक बिमा, म्यादी बिमा र एन्युटि बिमा ।
निर्जीवन बिमा
निर्जीवन बिमा निश्चित अवधिको लागि गरिने सम्झौता पत्र हो । यसमा बिमा गर्ने कम्पनी र बिमा गर्ने व्यक्तिका बीच सम्झौता हुन्छ । यस्तो सम्झौतालाई करार भनिन्छ । करार गर्दा तोकिएको निश्चित अवधिमा बिमा गरिएको सम्पत्तिको क्षति भएमा कति हानि नोक्सानि भएको हो, त्यसको आधारमा बिमा कम्पनीले सम्बन्धित पक्षलाई क्षतिपूर्तिका रुपमा भुक्तानी गर्छ । निर्जीवन बिमा सम्पत्तिको हानी नोक्सानी र दायित्वको जोखिमबाट मुक्त हुन गरिन्छ । यस खालको बिमामा चल अचल सम्पत्तिसँग सम्बन्धित बिमा पर्छन् । निर्जीवन बिमामा अग्नि बिमा, सामुन्द्रिक बिमा, हवाई बिमा, सवारी बिमा र विविध बिमा पर्छन् ।
यस्ता छन्, बिमाका फाइदाहरू
बिमा गर्दा कुनै पनि व्यक्तिले दोस्रो पक्षलाई जोखिम हस्तान्तरण गर्ने हो । त्यसैले बिमा गर्दा बीमितलाई कहिल्यै घाटा हुँदैन ।
बचत
जीवन बिमा सर्वोत्तम बचत हो । यस प्रकारको बचत जुनसुकै समयमा झिक्न भने पाईँदैन । जतिबेला पनि रकम झिक्न नमिल्ने भएकाले यस खालको बिमालाई निकै उत्तम बिमाका रुपमा मानिन्छ ।
आर्थिक सुरक्षा
जीवन बिमा भनेकै आर्थिक सुरक्षा हो । बिमाले बीमित वा बीमितको परिवारको आर्थिक सुरक्षाको काम गर्छ । बिमाले बीमितको ठूलो रकमको जोखिम वहन गरेको हुन्छ । बिमा गरेको व्यक्तिको बिमा अवधिभित्रै मृत्यु भएमा बीमांक तथा सो अवधिसम्मको बोनस बिमा कम्पनीले निजको हकवालालाई उपलब्ध गराउँछ । सो रकमबाट बीमितको परिवारले आफ्नो जीविका चलाउन सहयोग पुग्छ ।
सन्तानको शिक्षा
हरेक व्यक्तिले आफ्ना सन्तान राम्रो शिक्षा दिन चाहन्छन् । आफ्ना सन्तानको शिक्षाका लागि व्यक्तिले आफूले बिमा गर्न गर्छन् । बिमा कम्पनीहरुले बालबालिका सम्बन्धि विभिन्न बिमा योजनाहरु सार्वजनिक गरिहरहेका हुन्छन् । ती योजना हेरेर कति वर्षको कति रकमको बिमा गर्ने भन्ने निक्र्यौल गर्न सकिन्छ ।
ऋण सुविधा
बिमा गर्दा २ वर्षको बिमा शुल्क भुक्तानी गरिसकेपछि सो बिमालेखमा सो अवधिसम्मको समर्पण मूल्यको बढीमा ९० प्रतिशतसम्म बिमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ । ऋण सुविधा प्राप्त गर्नलाई बीमालेखबाहेक अन्य सम्पत्ति धरौटीमा राख्नु पर्दैन ।
कर छुट
आयकर ऐनअनुसार बिमा गरेमा २० हजार रुपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ । करमा छुट पाइने हुँदा बिमा गर्दा बीमितले त्यसबाट पनि लाभ लिन सक्छन् ।
परनिर्भरता उन्मूलन
जीवन बिमा भएमा कुनै कारणवश बीमितको मृत्यु भएमा बीमितको परिवारलाई आफ्नो जीविका चलाउन सहयोग गर्छ । जसका कारण अरुमाथि भर पर्नु वा आश्रित हुनु पर्दैन । जसका कारण मनमा आनन्द हुन्छ ।
प्रकाशित समय : १०:२४ बजे


















