गृहपृष्ठ साउदीद्वारा शैक्षिक प्रमाण माग्ने निर्णय तत्कालका लागि स्थगन
साउदीद्वारा शैक्षिक प्रमाण माग्ने निर्णय तत्कालका लागि स्थगन
साउदी अरेबियाले साधारण काम (अदक्ष)मा जाने कामदारसँग पनि शैक्षिक योग्यताको प्रमाणपत्र माग्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ ।
आइतबार सूचना जारी गर्दै काठमाडौंस्थित साउदी दूतावासले सोमबारदेखि प्रमाणित शैक्षिक योग्यता भएकालाई मात्रै भिसा जारी गर्ने बताएको थियो । तर क्षमता र सीपअनुसार कामदारको छनोट भइसकेपछि भिसा लगाउने बेला शैक्षिक प्रमाणपत्र खोज्ने कार्य अनावश्यक दुःख दिने नियती भएको भन्दै विरोध भएपछि दूताबास पछि हटेको छ ।
साउदी सरकारको उक्त निर्णयले कामदारलाई सास्ती दिने र कामदार पठाउने प्रक्रिया झन्झटिलो बन्ने भन्दै व्यवसायीले विरोध गरेका थिए । निर्णय फिर्ता नलिए कामदार पठाउने प्रक्रिया रोक्ने उनीहरूको चेतावनीपछि साउदीले तत्कालका लागि निर्णय स्थगन गरेको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी दूतावासले शैक्षिक प्रमाणपत्र नचाहिने पहिलाकै नीतिलाई निरन्तरता दिएको जनाएको छ ।
प्रकाशित समय : ०९:२४ बजे



















