global ime bank Long Banner Ad

गृहपृष्ठ गर्मीयाममा झाडापखालाको जोखिम किन बढी हुन्छ ?

गर्मीयाममा झाडापखालाको जोखिम किन बढी हुन्छ ?

भूमिका बिष्ट/न्युजकाराेबार

गर्मीयाममा झाडापखालाको जोखिम किन बढी हुन्छ ?

अहिले गर्मी बढेको छ । गर्मी बढेसँगै झाडापखालाको समस्या पनि धेरै देखिने गर्छ ।
पखाला खानपिन र पानीबाट हुने समस्या हो । यो जुनसुकै समयमा जसलाई पनि हुनसक्छ । तर गर्मीयाममा झाडापखालाको अझ बढी जोखिम हुन्छ । आखिर किन त?

यसै विषयमा केन्द्रीत रहेर फिजिसियन डा. रोशनकुमार झासँग न्युजकारोबार डटकमका लागि भूमिका बिष्टले गरेको कुराकानीको सम्पादित अंशः

झाडापखाला के हो ? कसरी लाग्छ ?

दिनमा ३ वा ३ पटकभन्दा बढी कसैलाई पातलो दिशा लाग्यो भने त्यो व्यक्तिलाई पखाला लागेको बुझिन्छ । खानपिनका कारण झाडापखाला लाग्ने गर्छ । हाम्रो आन्द्रालाई असर पार्ने खानेकुरा वा पचाउन नसक्ने तत्वहरु हाम्रो आन्द्रामा गयो भने पखाला लाग्न सक्छ । पखाला लाग्नुका धेरै कारणहरु हुन्छन । जस्तैः ब्याक्टेरिया, भाइरस वा ढुसीले संक्रमण गरेको खानेकुरा खायो भने पखाला लाग्न सक्छ । धेरै जसोमा भाइरसको कारणले पखाला लागेको पाइन्छ । उदाहरणका लागि जसरी हामीलाई सिजनल भाइरसका कारण रुघाखोकी लाग्छ, त्यसरी नै आन्द्रामा भाइरसले संक्रमण गर्यो भने झाडापखाला लाग्ने गर्छ । जुन केहीदिनमा आफै निको हुने गर्छ । तर अत्याधिक च्यापेको अवस्थामा सामान्य उपचार नपाए ज्यानै पनि जानसक्छ ।

गर्मीयाममा पखाला किन धेरै देखिन्छ ?

गर्मीयाममा पखाला लाग्ने सम्भावना बढी हुन्छ । किनभने गर्मीयाममा उच्च तापक्रमको कारणले गर्दा बढी समयसम्म भण्डार गरेर राखेको खानेकुरामा ब्याक्टेरिया र जीवाणुको संक्रमण बढी हुने हुन्छ । संक्रमण भएको खानेकुराहरु खाँदा झाडापखाला लाग्ने हुन्छ ।

संचित गरेर राखेको खानाहरु जस्तैः आजभोली ‘फ्राइराइस’ जसलाई हामी पकाएर स्टोर गरेर अनि फेरी पकाएर खाने गर्छोै । त्यस्तो बेला बिभिन्न किसिमका ब्याक्ट्रेरियाका टक्सिनहरु त्यहाँ बसिरहेका हुन्छन् । बासी खानेकुरालाई पुनः पकाएर खाँदा पनि शरीरको लागि उपयुक्त नहुन सक्छ । त्यसले हामीलाई झाडापखाला बनाउन सक्छ । यदि हामीले खानेकुरालाई उपयुक्त तापक्रममा संचित गरी राख्न सक्यौं भने मात्र केही घन्टा या केही दिन खानालाई पुनः खान मिल्छ । तर बढी तापक्रम बाहिर संचित गरी राखेको खाना वा फ्रिजमा धेरै दिन राखिएको खानामा हानीकारक तत्वहरु बढी रहेको पाइन्छ । त्यस्ता खानेकुरा खायौं भने झालाडापखाला लाग्ने गर्छ ।

त्यसैगरी बजारबाट ल्याइएका तरकारी, सागपात तथा फलफुल र घरमै पकाएर राखेका खानेकुराहरु एउटै फ्रिजमा भण्डारण गरी राखेमा चाँडै बिग्रिने र संक्रमित हुने सम्भावना हुन्छ । त्यसैले खानेकुराहरु छुट्टाछुट्टै फ्रिजमा भण्डारण गर्नुपर्छ । जस्तैः हामी बजारबाट किनेर ल्याएको तरकारी, फलफूल र पकाएको खाना सँगै एउटै फ्रिजमा राख्ने गर्छौँ । प्रायःको घरमा पकाएको खाना र बाहिरबाट ल्याएका विषादीयुक्त तथा फोहोर सागसब्जी एउटै फ्रिजमा भण्डारण गर्ने चलन छ । यसले हाम्रो खानालाई खराब गरिरहेको हुन्छ । जसकारण हामीलाई झाडापखाला लाग्ने गर्दछ । त्यसका साथै घरमा पकाएका खानेकुराहरु हामी फ्रिजमा राख्दा प्रायः नछोपी राखिरहेका हुन्छौँ। यसरी घरभित्र पकाएका खाना नछोपेर राख्दा बिग्रिसकेको हुन्छ । तर हामी त्यो कुरामा त्यति ध्यान दिइरहेका हुँदैनौं । गर्मि याममा बर्खाको कारण हाम्रो पिउने पानीको मुहानहरु दुषित हुने गर्छ र त्यहि पानी हामीले खायौँ भने हामीले झाडापखाला लाग्ने गर्छ ।

कुन उमेर समूह र कस्ता व्यक्तिलाई झाडापखाला लाग्ने सम्भावना बढी हुन्छ ?

झाडापखाला पाचन प्रणाली कमजोर भएका जुनसुकै उमेर समूहलाई लाग्न सक्छ । तर, बच्चा र वृद्धवृद्धा झाडापखाला लाग्ने सम्भावना बढी हुन्छ । किने भने यिनीहरुको पाचन प्रणाली कमजोर हुन्छ । त्यसले गर्दा पखाला लाग्ने गर्छ ।

झाडापखालाका लक्षणहरु के हुन् ?

१. दिशा पातलो हुनु ।
२. २४ घन्टामा तीनभन्दा बढी पटक पातलो दिशा लाग्नु ।
३. पिसाब कम हुँदै जानु ।
४. ब्लडप्रेसर घट्नु ।
५. छाला सुख्खा हुनु र जिब्रो सुख्खा हुनु ।
६. आँखा सुक्खा हुनु ।
७. वान्ता, रिगंटा लाग्नु, बेहोश हुनु ।

झाडापखालाबाट कसरी बच्ने ?

१. सकेसम्म एउटै फ्रिजमा सबै खालका खानेकुराहरु राख्नु हुँदैन । राख्ने नै हो भने, खानाहरु छोपेर राख्नपर्छ ।

२. गर्मीको बेला फ्रिजमा राखिएका खानेकुराको लागि तापक्रम एकनासको राख्नुपर्छ ।

३. पानीलाई सधैँ उमालेर सेलाएपछि मात्रै प्रयोग गर्नुपर्छ । यसरी पानीबाट हुने संक्रमणबाट बच्न सकिन्छ ।

४. पकाइसकेको खानेकुरा लामो समयसम्म संचित गर्नुहुँदैन । ताजा खानेकुरा खानुपर्छ ।
५. प्याक फुडहरु सकेसम्म खानुहुँदैन ।

झाडापखाला लागेमा कुन अवस्थामा अस्पताल जाने ?

धेरैजसो पखाला दुई दिनभित्र आफै निको हुन्छ । त्यही भएर पखाला लाग्दैमा आफू खुसी एन्टीबायोटिकको प्रयोग गर्नु हुँदैन । पखाला लागेमा झोलिलो पदार्थहरु, दालको झोलहरु खानुपर्छ । पानी पर्याप्त खानुपर्छ । तर दुई दिनभन्दा बढी पखाला लाग्यो, पिसाब कमकम हुन थाल्यो, रिंगाटा लाग्यो, ब्लडप्रेसर घटेर आयो, दिशामा रगत देखियो, पेट दुख्यो र ज्वरो आयो भने तुरुन्तै चिकित्सकको सल्लाह लिनु पर्दछ ।

प्रकाशित समय : १०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु