गृहपृष्ठ लोकप्रिय हुँदैछ नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल
लोकप्रिय हुँदैछ नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल
पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल खेलाउन सन् २००८/०९ देखि अरनिको स्केट शपले नै विदेशी स्वयंसेवक ल्याई नेपाली युवा विद्यार्थीलाई भौतिकरूपमै सिकाउन थालिएको थियो ।
त्यसपछि नेपालमा सन् २०१५ मा ११ सदस्यीय ‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’ तदर्थ समिति गठन गरी यस खेलको औपचारिक सुरुआत भएको देखिन्छ । पचास वर्षभन्दा अघि अर्थात् १९७० मा अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको स्केटिङ खेल संसारभर छिट्टै फैलन सफल भएको छ ।
‘नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घ’को आज यहाँ भएको पाचौँ महाअधिवेशन उद्घाटनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले यो खेल युवा वर्गले रुचाउने तथा नेपालका लागि नयाँ खेल भएकाले पनि यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने बताए ।
उनले यस खेलमा अन्य खेलको तुलनामा सङ्घ दर्ता गर्ने मात्रैभन्दा पनि युवा सक्रिय भएको देख्दा खुसी लागेको उल्लेख गरेका छन् । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले स्केटिङ तथा स्केटबोर्डिङ खेल सुरुआत भएको छोटो समयमै पूर्वाधार निर्माणको सुरुआत भएको उल्लेख गर्दै यो खेल युवा वर्गमाझ लोकप्रिय हुँदै गएको बताएका छन् ।
यस खेलको खेलस्थल निर्माण÷भौतिक संरचना निर्माण नेपालमा आधिकारिकरूपमा यस सङ्घको स्थापना भएपश्चात् यस खेलको खेलस्थल (स्केटपार्क) को आवश्यकता महसुस गरी सन् २०१७ मा अमेरिकास्थित यस खेल विकासमा योगदान गर्दै आइरहेको ‘मेक लाइफ स्केट लाइफ’ संस्थाले काठमाडौँको ठमेलमा स्केटपार्क निर्माण गरेको थियो ।
त्यसपछि पोखरा रङ्गशालाभित्र तत्कालीन समयमा सन् २०१८ मा करिब एक करोडको लागतमा अन्तर्राष्ट्रियस्तरको स्केट पार्क निर्माण गरिदिएको र सो स्केटपार्कमा दुई वटा राष्ट्रिय च्याम्पियनसिप समेत सम्पन्न भइसकेको सङ्घका अध्यक्ष अच्युत खनालले जानकारी दिए ।
त्यसैगरी बुटवलको तिलोत्तमामा अन्तर्राष्ट्रियस्तरको स्केटपार्क निर्माण भइसकेको छ भने काठमाडौँ महानगरपालिकाले हालै मात्र काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको स्केटपार्कको आवश्यकता महसुस गरी करिब रु सात करोड ५० लाख लागतको स्केटपार्क निर्माण गर्न सूचना प्रकाशित गरिसकेको छ ।
प्रकाशित समय : १८:१५ बजे


















