गृहपृष्ठ गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर
गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले गोल्डस्टारलाई आफ्नो आधिकारिक फुटवेयर पार्टनरका रूपमा अनुबन्ध गरेको छ।
साझेदारीसम्बन्धी सम्झौतामा गोल्डस्टारका हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स शिवालिका राणा र सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार एनपीएलको तेस्रो संस्करणभर गोल्डस्टारले सुदूरपश्चिम रोयल्सलाई आधिकारिक फुटवेयर पार्टनरका रूपमा साथ दिनेछ। दुवै पक्षले साझेदारीले नेपाली खेलकुद तथा घरेलु क्रिकेटको व्यावसायिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
गोल्डस्टारकी हेड अफ स्ट्राटेजिक इनिसिएटिभ्स राणाले नेपाली क्रिकेटसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा उत्साहित रहेको बताइन्।
‘गोल्डस्टारले यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) मार्फत पनि नेपाली क्रिकेटमा लगानी गरेको थियो। सुदूरपश्चिम रोयल्ससँगको यो साझेदारी त्यसै यात्राको निरन्तरता हो,’ उनले भनिन्।
नेपाली क्रिकेटको व्यावसायिक विकास र नयाँ पुस्ताका खेलाडीलाई प्रेरित गर्ने अभियानमा रोयल्ससँग सहकार्य गर्न पाउँदा उत्साहित रहेको उनले बताइन्।
सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत खड्काले गोल्डस्टारजस्तो स्थापित नेपाली ब्रान्डसँगको सहकार्यले नेपाली ब्रान्ड र नेपाली क्रिकेटबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताए।
‘गोल्डस्टारजस्तो स्थापित नेपाली ब्रान्ड सुदूरपश्चिम रोयल्ससँग जोडिनु हाम्रो लागि गर्वको विषय हो,’ उनले भने, ‘तेस्रो संस्करणमा मैदानभित्रको प्रदर्शनसँगै व्यावसायिक रूपमा पनि बलियो यात्रा तय गर्ने हाम्रो लक्ष्य छ। यो साझेदारी त्यस दिशामा महत्वपूर्ण छ।’
प्रकाशित समय : २०:०५ बजे


















