गृहपृष्ठ सिटिजन्स बैंकले मधेशमा अघि बढायो आक्रामक व्यावसायिक रणनीति

सिटिजन्स बैंकले मधेशमा अघि बढायो आक्रामक व्यावसायिक रणनीति

सिटिजन्स बैंकले मधेशमा अघि बढायो आक्रामक व्यावसायिक रणनीति

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा उच्च व्यावसायिक वृद्धि, गुणस्तरीय कर्जा र बजार नेतृत्वलाई प्राथमिकतामा राख्दै रणनीतिक छलफल गरेको छ ।

बैंकले शुक्रबार मधेश प्रदेशमा “ड्राइभिङ हाइ–भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट एन्ड मार्केट लिडरसिप ०८३/८४” कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलसहित वरिष्ठ अधिकारी, प्रदेश प्रमुख तथा शाखा प्रबन्धकहरूको सहभागिता थियो ।

कार्यक्रममा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकताबारे छलफल गरिएको बैंकले जनाएको छ । साथै केन्द्र र प्रदेशबीचको सहकार्य थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको थियो ।

मधेश प्रदेशका आठ जिल्लामा बैंकका २९ शाखा सञ्चालनमा छन् । यसअघि बैंकले बागमती प्रदेशमा ‘लिडिङ फ्रम द फ्रन्टः स्ट्राटेजिक ग्रोथ इम्पेरेटिभ्स फर बागमती प्रदेश’ र कोशी प्रदेशमा ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न गरिसकेको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

बैंकले पछिल्लो समय डिजिटल तथा लक्षित ग्राहक केन्द्रित सेवामा पनि विस्तार गरेको जनाएको छ । फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको बैंकले नवयुवालाई लक्षित गर्दै ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ सञ्चालनमा ल्याएको छ ।

त्यस्तै, फ्रिलान्सरलाई लक्षित गरी ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’, मोबाइल बैंकिङमार्फत शेयर आवेदन तथा सी–आस्बा नम्बरसम्बन्धी सेवा र क्रस बैंक टेलर सुविधा पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले हाल ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमर्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिइरहेको छ।

प्रकाशित समय : १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु