गृहपृष्ठ सन्तुलित आहार योजना कसरी बनाउने ?
सन्तुलित आहार योजना कसरी बनाउने ?
भूमिका बिष्ट/न्युजकाराेबार
सन्तुलित आहार र शरीरलाई चाहिने सबै पोषक तत्वहरूको ख्याल राखेमा स्वस्थ जीवनशैली हासिल गर्न सकिन्छ । स्वस्थ र सन्तुलित आहार योजनाले शरीरलाई चाहे जस्तै बनाउनका साथै दीर्घकालीन रोगहरूको जोखिम कम गर्न पनि सहयोग पुग्छ ।
सन्तुलित आहारले एनिमिया, मोटोपना, उच्च रक्तचाप, हृदय रोग, मधुमेह, स्ट्रोक, अस्टियोपोरोसिस र क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ ।
हामिले सधैं खाइरहने खानामै आधारित रहेर सन्तुलित आहार योजना कसरी बनाउन सकिन्छ ? यस बिषयमा राष्ट्रिय ट्रमा सेन्टरकी आहार विशेषज्ञ पर्यवेक्षक योगिता सापकोटासँग गरिएको कुराकानीको सम्पादित अंशः
स्वस्थ आहार भनेको के हो ?
सामान्यतया, सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दूग्धजन्य पदार्थ र तेलसहितका सबै किसिमका खाद्यान्न पर्दछन् । हामीले खाना खाएर मात्र हुँदैन स्वस्थ आहारको लागि सन्तुलित खाना पनि हुनुपर्छ । सन्तुलित आहारले शरिरलाई स्वस्थ र स्फूर्त राख्न सहयोग पुग्छ । जसमा कावोहाइड्रेट्स, प्रोटिन फ्याट, भिटामिन र मिनरल्स्हरुको मात्रा पर्दछ ।
हामीले खाइरहने खानाबाट नै सन्तुलित आहारको योजना कसरी बनाउन सकिन्छ ?
स्वस्थ र सन्तुलित आहारको योजना बनाउन हामीले किन्ने नसक्ने अथवा हामीसँग सजिलै उपलब्ध हुन नसकेमा स्वस्थ आहार योजनानै गर्न सक्दैनौं भन्ने हुँदैन । त्यसका लागि हामीले सजिलै उपलब्ध हुन सक्ने खानाहरुबाटै ‘हेल्दीडाइट’को प्लान गर्न सक्छौ ।
सन्तुलित आहार योजनामा के–के पर्छन् ?
हाम्रै वरिपरी र हाम्रै भान्सा रहेका खानेकुराहरु पर्छन् । भान्सा नै स्वस्थ आहार योजनाको प्रमुख सिद्धान्त हो । जस्तोकी, हाम्रो शरीरमा शक्ति दिनका लागि कार्वाेहाइड्रेट्स चाहिन्छ । यसमा अन्न र आलु पर्दछन् । जुन हाम्रै भान्सामा सधैं हुन्छ । कार्वाेहाइड्रेट जसमा सबै किसिमका अन्नहरु र आलु, पिँडालु र सखरखन्डहरु पर्दछन् । हाम्रो शरीरलाई चाहिने प्रोटिन वा क्याल्सियमका लागि दूग्धजन्य पदार्थ र माछा, मासु र अन्डा खानुपर्दछ । दाल गेडागुडीले पनि प्रोटिन र क्याल्सियमको मात्रा पुरा गर्छन् । भिटामिन र मिनरल्सका लागि फलफुल र सागसब्जी खानुपर्दछ । त्यसैगरी फ्याटका लागि तेल, घिँयू, तिल र ओखर लाभदायिक हुन्छन् । यी सबै हाम्रो वरपर सहजै पाइन्छन् । यीनै खानेकुरा हाम्रो खानामा समावेश गरि सन्तुलित आहार योजना बनाउनुपर्छ ।
धेरैले सबै प्रकारका सन्तुलित खानाहरू खाइरहेको बताउँछन् । तर पनि उनीहरुले स्वास्थ्य सम्बन्धी समस्याहरु भोगिरहेका हुन्छन् । त्यसको अर्थ ती खानाहरू सही मात्रामा नखानु हो । आहार योजना सबैको एकनास हुन सक्दैन । व्यक्ति व्यक्तिको फरक फरक आहार हुन्छ । सबैको उमेर, तौल, रोगी–निरोगी, महिला–पुरुष सबैको फरक हुनेगर्छ ।
उदाहरणका लागि एक ६५ बर्षको पुरुष छ । ऊ गतिहीन छ भने उसलाई २ हजार एक सय १० किलो क्यालोरी चाहिन्छ । त्यसैगरी ५५ वर्षीय महिला छ । उसको शारीरिक गतिहीन पनि छ । तर उसलाई एक सय ६६ देखि एक हजार ६ सय ६० किलो क्यालोरी आवश्यक पर्छ ।
के महिला र पुरुषका डाइट प्लान फरक–फरक हुन्छन् ?
हो, महिला र पुरुषको आहार योजनाहरु फरक–फरक हुन्छ । यतिमात्र होइन, व्यक्ति–व्यक्तिको के खाने भन्ने कुराहरु फरक हुन्छ । जस्तैः कसैलाई दुध मनपर्छ भने कसैलाई मन नपर्न सक्छ । महिला र पुरुषमा यी सबै कुरा फरक हुन्छ । महिला र पुरुषको आवश्यक्ता नै फरक हुन्छ । महिला र पुरुषको क्यालोरी आवश्यकता फरक हुन्छ । महिला–महिला र पुरुष– पुरुषभित्र पनि खाने कुरा फरक हुन्छ । जस्तै शारीरिक तौल अनुसार उसलाई चाहिने खानेकुराहरु फरक हुन्छ । कुनै रोगी छ भने पनि उसले आहारमा के खाने भन्ने कुराहरु फरक–फरक हुन्छ । उदाहरणका लागि एक ६५ बर्षको पुरुष छ । ऊ गतिहीन छ भने उसलाई २ हजार एक सय १० किलो क्यालोरी चाहिन्छ । त्यसैगरी ५५ वर्षीय महिला छ । उसको शारीरिक गतिहीन पनि छ । तर उसलाई एक सय ६६ देखि एक हजार ६ सय ६० किलो क्यालोरी आवश्यक पर्छ । पुरुषभन्दा महिलालाई कम क्यालोरी भए पुग्छ । त्यसैगरी ६५ केजीको युवा मानिसलाई दिनभरीमा ४३ ग्राम प्रोटिन चाहिन्छ । तर ५५ केजीकै युवतीलाई ३६ ग्राम प्रोटिन भए पुग्छ । त्यसैगरी क्याल्सियमको मात्रा, आइरन जिङ्क, आयोडिन, बिभिन्न बी कम्पल्याक्स, भिटामिनहरु यी सबैको आवश्यक्ता महिला र पुरुषबीच फरक–फरक हुन्छ ।
अहिले धेरैले आहार योजनाको लागि पोषणविद्को सल्लाह लिने गर्छन् । त्यो एकदमै राम्रो हो । किनभने प्रत्येक व्यक्तिको शारीरिक अवस्था उमेर हेरेर फरक–फरक आहारको योजना बनाउनुपर्छ ।
प्रकाशित समय : ०९:४७ बजे



















