गृहपृष्ठ प्रधानमन्त्रीको भारत भ्रमण जेठ तेस्रो साता

प्रधानमन्त्रीको भारत भ्रमण जेठ तेस्रो साता

प्रधानमन्त्रीको भारत भ्रमण जेठ तेस्रो साता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट पारित गर्नेबित्तिकै छिमेकी मुलुक भारतको भ्रमण गर्ने भएका छन् । प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक भारत भ्रमणमा जान लागेका हुन् । भ्रमणको औपचारिक निर्णय भइसकेको छैन । तर परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको तयारी अघि बढाएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गर्नेबारे छलफल भइरहेको छ । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीलाई लिएर परराष्ट्रमन्त्री एनपी साउदले छलफल तीव्र पारेका छन् । उनले पूर्व परराष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू र पूर्वसचिवहरूसँग छलफल गरेका छन् ।

परराष्ट्रमन्त्री साउदले शुक्रबार प्रधानमन्त्री प्रचण्डको भ्रमणका विषयमा पूर्व परराष्ट्रमन्त्रीहरूसँग छलफल गरे । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्व परराष्ट्रमन्त्रीहरू सुजाता कोइराला, रघुवीर महासेठ, प्रकाशचन्द्र लोहनी र भेषबहादुर थापा सहभागी थिए। पूर्व परराष्ट्रमन्त्रीहरुसँग प्रधानमान्त्रीको भारत भ्रमणका क्रममा नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुका बारेमा छलफल गरिएको परराष्ट्रमन्त्री साउदले बताए । उनले व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटन तथा सांस्कृतिक सम्बन्धसागै जनस्तरको सम्बन्धबारे छलफल भएको पनि बताए।

परराष्ट्रमन्त्री साउदले यसअघि बिहीबार पूर्वराजदूत र पूर्वसचिवहरुसँग छलफल गरेका थिए । छलफलमा पूर्वराजदूतद्वय लोकराज बराल, दिनेश भट्टराई तथा पूर्वसचिवहरु दुर्गा भट्टराई, मधुरमण आचार्य, मदन भट्टराईसँग छलफल गरिएको मन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।

प्रकाशित समय : १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु