global ime bank Long Banner Ad

गृहपृष्ठ संघीय सरकारको ढुकुटी साढे ८४ अर्बले घाटामा

संघीय सरकारको ढुकुटी साढे ८४ अर्बले घाटामा

संघीय सरकारको ढुकुटी साढे ८४ अर्बले घाटामा

चालु आर्थिक वर्ष २०७९/८०मा लक्ष्यअनुसार राजस्व संलकन गर्न नसक्दा संघीय सरकारको ढुकुटी (सञ्चित कोष) ठूलो घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत) सम्मको तथ्यांकले सरकारी वित्त चरम दबाबमा रहेको देखाएको छ ।

चैत मसान्तमा संघीय सरकारको सञ्चित कोष ८४ अर्ब ५३ करोड १९ लाख रुपैयाँले घाटामा गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राजस्व असुलीमा सुधार नभएकाले वैशाख महिना लागेपछि यस्तो घाटा झन् बढेको अनुमान छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार प्रदेश सरकारहरु र स्थानीय तहको सञ्चित कोष बचतमा हुँदा समग्र सरकारी वित्त बचतमा देखिए पनि संघीय सरकारलाई भने नियमित खर्च व्यवस्थापन गर्नै चुनौती बनेको देखिन्छ ।

गत आर्थिक वर्षको यस्तै अवधिमा १ खर्ब २१ अर्ब ६६ करोडले बचतमा रहेको संघीय सकारको सञ्चित कोष चालु आर्थिक वर्षमा झण्डै एक अर्बले घाटामा पुग्न लागेको देखिएको छ ।

चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब ६० करोड ५३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा चैत मसान्तसम्म राजस्व तथा अनुदानबाट ७ खर्ब १९ अर्ब ६७ करोड राजस्व संकलन गरेको राष्ट्र बैंकको तथ्यांक छ । यस्तै आन्तरिक ऋण १ खर्ब १२ अर्ब २० करोड र बाह्य ऋण ५४ अर्ब ३ करोड परिचालन भएको केन्द्रिय बैंकको तथ्यांकमा उल्लेख छ ।

संघीय सरकारको सञ्चित कोष घाटामा भएपनि प्रदेश सरकार र स्थानीय तहको सञ्चित कोषमा भने रकम थुप्रिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेश सरकारहरुको सञ्चित कोषमा ९२ अर्ब १३ करोड मौज्दात रहँदा स्थानीय तहको सञ्चित कोषमा १ खर्ब ९० अर्ब रुपैयाँ मौज्दात रहेको केन्द्रिय बैंकको तथ्यांकले देखाउँछ ।

स्थानीय र प्रदेश सकारले खर्च गर्न नसकेर सञ्चित कोष बढ्दै जाँदा संघिय सरकार भने चालु खर्च धान्ने समेत धौ–धौ पर्ने अवस्थामा छ । सरकारको सञ्चित कोषमा दवाब बढ्दै गएपछि केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्ले प्रदेश र स्थानीय तहलाई पठाउने वित्तीय समानीकरण अनुदानको तेस्रो किस्ताको ५० प्रतिशत रकम मात्रै पठाउने निर्णय गरेको थियो ।

‘२०७९ चैत्र मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा १ खर्ब ९१ अर्ब ३७ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २५ अर्ब ८० करोड रहेको थियो’ नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकमा आधारित आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित समय : ०७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु