तातोपानी नाकामा वैशाख १८ बाट निर्यात खोल्ने सहमति
वि.सं.२०८० वैशाख ५ मंगलवार १०:३९
shares
तातोपानी नाकाबाट निर्यात खुलाउन चीन र नेपालबीच सहमति भएको छ ।
७२ सालको विनाशकारी भूकम्पपछि मालवाहक रुपमा मात्रै सञ्चालित भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका अब निर्यातका लागि खुल्ने भएको हो ।
मंगलबार नेपाल–चीनको सीमा मितेरी पुलमा भएको नेपाल र चीनका सरकारी अधिकारीबीचको छलफलमा चीनले निकासीसहित ६ बुँदे सहमति गरेको हो ।
नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न वैशाख १८ (मे १) बाट नाका खोल्नेसहित ६ बुँदे मौखिक निर्णय भएको हो ।
मंगलबारको ‘काउन्टर पार्ट मिटिङ’मा सीमाबाट निर्यातसहित कोभिड १९ सावधानी अपनाउने सूचना सप्रेषण, अन्तरदेशीय सीमा नाका सुरक्षा व्यवस्था, अपराध नियन्त्रण र न्यूनीकरण संवेदनशील रहेर गस्ती, थप चेक प्वाइन्टमा कडा जाँच, सूचना आदानप्रदानजस्ता मुख्य विषय थिए ।
नाकाप्रति स्थानीयको गुनासो
१५ चैतमा तिब्बतको ल्हासामा सम्पन्न भएको संयन्त्रको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको थियो । त्यस सहमतिपछि केही समयमै उत्तरी केरुङ नाका पूर्णरुपमा सञ्चालनमा आइरहँदा चैत २८ मा भौतिक पूर्वाधार निर्माणमा नापतौल काटा राखिने भन्दै तातोपानी एक साताको लागि चीनले बन्द गर्यो । केरुङ पूर्णरुपमा खुलिरहँदा तातोपानीबाट निर्यात मात्रै खुल्ने मौखिक सहमति भएपछि यहाँका स्थानीय निराश देखिएका छन् ।
नाकाबाट निर्यात खुल्ने सहमति भए पनि तातोपानीमा भौतिक पूर्वाधार तैयारी देखिँदैन । चिनियाँ कम्पनीले बनाइदिएकाे अत्याधुनिक मितेरी पुल र तातोपानी सुक्खा बन्दरगाहबाहेक अन्य अध्यागमन, गेट, सुरक्षा पोष्टजस्ता महत्त्वपूर्ण सबै टहरा, जिर्ण भवनमा चलाइएका छन् । सीमा जोड्ने कोदारी राजमार्गकाे २६ किलोमिटर धराप थापेजस्ताे छ ।

























