यो अडिओ केही पनि होइन, पार्टीलाई हराउने सुनियोजित योजना हो–ढाकाकुमार श्रेष्ठ
वि.सं.२०७९ चैत २९ बुधवार १८:२९
shares

सांसद डा.ढाकाकुमार श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा पत्रकार सम्मेलन गरेर जनवरीमा भएको अडिओ अहिले हालेर पार्टीलाई उपनिर्वाचनमा हराउन खोजिएको आरोप लगाएका छन् ।
सांसद श्रेष्ठले बुधबार रास्वपाको केन्द्रीयमा पत्रकार सम्मेलन गरेर दुई करोड घूस मागिएको अडिओ प्रकरणबारे बोलेका हुन्। रास्वपाकै ब्यानरमा गरिएको पत्रकार सम्मेलनमा सांसद श्रेष्ठले पार्टीमाथि सुनियोजित प्रहार गरिएको जिकिर गरे। रास्वपा सांसद श्रेष्ठले भने, “यो अडिओ केही पनि होइन, फसाइएको हो, सुनियोजित गरिएको हो।”
जनवरीमा भएको अडिओ उपनिर्वाचनका वेला सुनियोजित तरिकाले बाहिर ल्याइएको उनको भनाइ थियो। “जनवरीमा भएको अडिओ अहिले हाल्नु भनेको सुनियोजित किसिमले हाम्रो पार्टीलाई प्रहार गरिएको हो। पार्टीलाई हराउन गरिएको सुनियोजित योजना हो,” श्रेष्ठले भने।उनले आफू न्यायालयबाट सफाइ पाएर आउने जिकिर गरे। “म न्यायालय गएर, मेरो सम्पूर्ण कुरा प्रष्ट पारेर क्लिन चिट लिएर आउछु,” श्रेष्ठले भने।

























