गृहमन्त्री र सचिवको सुराकी खर्च अधिकार खारेज
वि.सं.२०७९ चैत २१ मंगलवार ०७:५०
shares

सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनमा तजबिजी खर्च गर्न पाउने अधिकार खारेज गरेको छ ।
सोमबारको मन्त्रिपरिषद बैठकले बिलभर्पाइ पेश गर्न नपर्ने गरी गृहमन्त्री र सचिवले खर्च गर्न पाउने अधिकार कटौती गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘गृहमन्त्री र गृह सचिवले हिसावकिताव देखाउन नपर्ने गरेर जासुसी परिचालनका लागि खर्च गर्ने जुन हाम्रो कार्यविधि थियो । त्यो कार्यविधि खारेज गरिएको छ’ मन्त्रिपरिषद् बैठकपछि उनले भनिन् ।
सुराकी खर्चवापत हाल गृहमन्त्रीले दैनिक ५० हजार र सचिवले २० हजार रुपैयाँ खर्च गर्न पाउँछन् । तजविजी अधिकारको दुरुपयोग भएको भनी प्रश्न उठेपछि सरकारले यस्तो निर्णय गरेको हो ।
यसअघि गृहमन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ शुक्रबार उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले खर्च कटौतीको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेका थिए।

























