global ime bank Long Banner Ad

गृहपृष्ठ बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा

बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा

बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा

नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘सुपरिवेक्षकीय सूचना प्रणाली’ विधिवत् रूपमा बैंकलाई हस्तान्तरण गरिएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक समारोहबीच बेलायती सहयोग नियोगअन्तर्गतको फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसीडीओ)का विकास निर्देशक पीप्पा बर्डले उक्त प्रणाली गभर्नर महाप्रसाद अधिकारीलाई हस्तान्तरण गरेकी हुन् । बेलायती सहयोग नियोगको वित्तीय क्षेत्र स्थायित्व कार्यक्रम (एफएसएसपी)को वित्तीय सहयोगमा एसआईएस निर्माण गरिएको हो ।

कार्यक्रममा गभर्नर अधिकारीले एसआईएसको कार्यान्वयनसँगै बैंक तथा वित्तीय संस्थाको नियमन र सुपरिवेक्षणको ढाँचा स्वचालित प्रणालीमा प्रवेश गरेको बताए । वित्तीय क्षेत्रको प्रभावकारी नीति तर्जुमा र कार्यान्वयनको निम्ति विश्वसनीय र यथार्थ तथ्यांक आवश्यक पर्ने उल्लेख गर्दै गभर्नर अधिकारीले एसआईएसले त्यो आवश्यकतालाई परिपूर्ति गर्ने विश्वास व्यक्त गरे ।

एसआईएसको निर्माण र कार्यान्वयनमा प्राप्त सहयोगको निम्ति उनले बेलायती सहयोग नियोग र सम्बद्ध अन्य निकायलाई धन्यवाद दिए ।

सो अवसरमा एफसीडीओका निर्देशक बर्डले एसआईएसको कार्यान्वयनबाट राष्ट्र बैंकको सुपरिवेक्षकीय क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको निम्ति बेलायत सरकार सधैँ प्रतिबद्ध रहेको धारणा व्यक्त गरिन् ।

कार्यक्रममा बैंक सुपरिवेक्षण विभागका निर्देशक शुभाषचन्द्र घिमिरेले एसआईएसको परिचय, विशेषता र यसको कार्यान्वयनका विविध पक्षबारे जानकारी दिए भने उपनिर्देशक डिल्लीराम पोख्रेलले एसआईएसको डेमो प्रदर्शन गरे ।

सो अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले एसआईएसको कार्यान्वयन नेपालको वित्तीय प्रणालीको निम्ति ‘कोसे ढुङ्गा’ सावित भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा बैंक तथा वित्तीय संस्थाबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एसआईएस निर्माणमा आबद्ध साझेदार संस्था (पीडब्लूसी)का प्रतिनिधि रनेन बनर्जी, एफएसएसपीका टोली प्रमुख सूर्य आचार्य र एसआईएसको सफ्टवेयर तयार गर्ने संस्था (आईआरआईएस)का प्रमुख एस. स्वामीनाथनले उक्त प्रणालीको प्रारम्भिक चरणदेखि कार्यान्वयन अवस्थासम्मका विविध पक्षबारे चर्चा गरेका थिए ।

‘सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस)’ अनलाइन प्रविधिमा आधारित रिपोर्टिङ सिस्टम हो । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा नियमित रूपमा रिपोर्टिङ गर्नुपर्ने तथ्यांक र सूचना यसै प्रणालीमार्फत पेस गर्दछन् । स्वाचालित प्रणालीबाटै ती तथ्यांककाृ प्रशोधन गरिन्छ ।

एसआईएसको कार्यान्वयनबाट सुपरिवेक्षकीय प्रणाली आधुनिक, स्वचालित र थप प्रभावकारी बन्न पुगेको सरोकारवालाहरूको विश्वास छ । एसआईएसको कार्यान्वयनबाट नेपाल राष्ट्र बैंकको सुपरिवेक्षकीय प्रणाली थप सबल, वस्तुनिष्ठ तथा प्रभावकारी बन्ने र यसबाट वित्तीय क्षेत्रको स्थायित्वमा योगदान पुग्ने अपेक्षासमेत गरिएको छ ।

प्रकाशित समय : २१:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु