बुढासुब्बा गोल्डकपको उपाधि क्यामरुनी टिम एभिनियरले जित्यो
वि.सं.२०७९ फागुन २० शनिवार २०:४७
shares

धरानमा सम्पन्न २३औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि क्यामरुनी फुटबल टिम एभिनियर जितेको छ ।
धरान १६ स्थित रंगशालामा आज सम्पन्न फाइनलमा काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १-० गोल अन्तरले पराजित गर्दै एभिनियरले उपाधि जितेको हो । एभिनियरको जितमा सब्बा अलीले खेलको ६५औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । विजेता टिमले नगद १० लाख र उपविजेता काँकडभिट्टाले पाँच लाख पुरस्कार पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै केएफटीसीका मिलन राईले एक लाख पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सबैभन्दा धेरै गोल गर्ने केएफटीसीका निशान लिम्बूले नगद २५ हजार पुरस्कार प्राप्त गरे । उनले प्रतियोगिताभर तीन गोल गरेका थिए । त्यस्तै प्रतियोगिताको बेष्ट कोच एभिनियरका आशिक थापा मगर, बेष्ट स्ट्राइकर केएफटीसीका यमि, बेष्ट मिड फिल्डर एभिनियरका जोय एल्डो, बेष्ट डिफेन्डर एभिनियरका सागु र बेष्ट गोल किपर एन्फा मोरङका प्रनिजय गच्छदार घोषित भए । उनीहरुले जनही नगद २५ हजार प्राप्त गरे ।
फाइनल खेलको म्यान अफ म्याच केएफटीसीका रिचार्ड विल्सन घोषित हुदैं नगद १० हजार पुरस्कार हात पारे । राइजिङ प्लेयरमा धरान फुटबल क्लबका विनोद राई घोषित भए । विजेता तथा उपविजेता खेलाीलाई प्रमुख अतिथि एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले पुरस्कार र मेडल प्रदान गरे ।
























