गृहपृष्ठ अब पोखरा–भद्रपुर सिधा उडान
अब पोखरा–भद्रपुर सिधा उडान
पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी
निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ ।
‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ’,स्टेशन म्यानेजर गौतम बरालले भने । उनका अनुसार,अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने छ ।
म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।
पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको बताइएको छ । यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडेर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने मेनेजर बरालको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटि बढ्ने र आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ‘पोखरा पर्यटकीय शहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा ल्याउन भूमिका निर्वाह गर्छ’,उनले सुनाए ।
योसँगै बुद्ध एयरले मार्च ९देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ । पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ ।
अहिले पोखरा–भद्रपुर सडक यात्रा गर्दा करिब १८ घण्टा बिताउनाका साथै रू २४ सय–२७ सयसम्म भाडा तिर्नुपर्छ तर हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा पनि रू नौ हजार छ सय ८५ पर्छ ।
प्रकाशित समय : १४:१८ बजे


















