गृहपृष्ठ कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा फैलिएको इबोला भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ ।

कङ्गोली स्वास्थ्य अधिकारीका अनुसार हालसम्म इबोलाका चार हजार ३८१ पुष्टि भएका सङ्क्रमणमध्ये दुई हजार ११ जनाको मृत्यु भएको छ ।

यो सङ्ख्या सन् २०१८ देखि २०२० सम्म फैलिएको डीआरसीको सबैभन्दा घातक इबोला प्रकोपमा भएको मृत्युको नजिक पुगेको हो । उक्त प्रकोपमा तीन हजार ५०० सङ्क्रमितमध्ये करिब दुई हजार ३०० जनाको मृत्यु भएको थियो ।

कङ्गोको द्वन्द्वग्रस्त पूर्वी तथा उत्तरपूर्वी क्षेत्रमा फैलिएको पछिल्लो प्रकोपको औपचारिक घोषणा मे १५ मा गरिएको थियो । यद्यपि, योभन्दा केही साताअघिदेखि नै भाइरस फैलिएको अनुमान गरिएको छ ।

यो डीआरसीमा इबोला सङ्क्रमणको १७औँ प्रकोप हो । खोपसम्बन्धी विश्वव्यापी गठबन्धन ‘गाभी’की प्रमुख कार्यकारी सानिया निश्तारले यसलाई देशको इतिहासकै सबैभन्दा ठूलो इबोला प्रकोप रहेको बताएको छन् । उनले यो प्रकोप अझै ठूलो बन्न सक्ने चेतावनी दिएको छन् ।

कङ्गोली स्वास्थ्य अधिकारीले हालको प्रकोपमा इबोलाबाट मृत्यु हुने दर ४५ दशमलव नौ प्रतिशत रहेको बताएका छन् ।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का खोपसम्बन्धी विज्ञहरूले हाल फैलिएको इबोलाको स्ट्रेनविरुद्ध उपलब्ध एक मात्र स्वीकृत खोपको प्रभावकारिता परीक्षण गर्न व्यापक मानव परीक्षण गर्न सिफारिस गरेका छन् । हालको प्रकोपमा देखिएको स्ट्रेनविरुद्ध विशेष खोप उपलब्ध छैन ।

‘एर्भेबो’ खोप इबोला भाइरसको बढी सामान्य ‘जायर’ स्ट्रेनविरुद्ध सुरक्षित र प्रभावकारी देखिएको छ । डब्लुएचओका विज्ञहरूका अनुसार प्रारम्भिक तथ्याङ्क, विशेषगरी जनावरमा गरिएको परीक्षणले, कङ्गोमा फैलिएको दुर्लभ ‘बुन्डिबुग्यो’ स्ट्रेनविरुद्ध पनि उक्त खोपले केही सुरक्षा प्रदान गर्न सक्ने देखाएको छ ।

‘बुन्डिबुग्यो’ स्ट्रेनविरुद्ध विकास भइरहेका दुई सम्भावित खोप मानवमा क्लिनिकल परीक्षणको प्रारम्भिक चरणमा छन् । अर्को एक खोपलाई पनि प्रारम्भिक परीक्षणमा लैजाने तयारी भइरहेको छ ।

इबोला सङ्क्रमित व्यक्तिको शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने अत्यधिक सङ्क्रामक रोग भएकोले गम्भीर रक्तस्रावी ज्वरो निम्त्याउन सक्छ ।

प्रकाशित समय : २१:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु