गृहपृष्ठ आजको मौसमः तराईका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आजको मौसमः तराईका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आजको मौसमः तराईका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सर्दै नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी र कर्णाली प्रदेशका केही स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा, साथै मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाले दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ। हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षासँगै उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भाग, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका पहाडी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, साथै लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ।

भारी वर्षाका कारण कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, साथै मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

विभागले सम्भावित विपद्का कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने उल्लेख गर्दै मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा अद्यावधिक गर्दै सुरक्षित रहन सबैलाई अनुरोध गरेको छ।

प्रकाशित समय : ०६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु