गृहपृष्ठ ‘कालो सुन’ले कायापलट
‘कालो सुन’ले कायापलट
अलैंचीले यहाँका किसानको आर्थिक अवस्था उकासिएको छ । करिब ४५ वर्ष अघिदेखि अलैंची खेती विस्तार भएको लमजुङमा केही वर्षदेखि अलैंची खेतीले राम्रो आम्दानी दिन थालेपछि यहाँका अधिकांश किसानको आर्थिक अवस्था उकासिन थालेको हो ।
अलैंचीबाट उकासिएकामध्ये एक हो हिमाली जिल्ला मनाङसँग सिमाना जोडिएको लमजुङको उत्तरी भेग मर्स्याङदी गाउँपालिका-७, छिनखोलाका अजय तामाङ । उनको दिनचर्या अलैंची बारीमै बित्छ । कालो सुनका रूपमा हेरिने अलैंची खेती थालेपछि भने उनी आर्थिक रूपले सम्पन्न मात्र छैनन् रोजगारी दिलाउन सक्ने हैसियतमा पनि छन् ।
अलैंची किसान तामाङ गाउँ-गाउँमा सुरु भएको अलैंची खेतीको लहरसँगै १५ वर्षअघि परिवारसहित गाउँ फर्किए । एक रोपनी जग्गाबाट सुरु भएको अलैंची खेती यतिबेला ४० रोपनी क्षेत्रफलमा फैलिएको छ । सोही छिनखोलामा पाँच रोपनी र ताराचोक शेरामा ५० रोपनी क्षेत्रफलमा नेपालकै ठूलो अलैंची नर्सरी स्थापना भएसँगै उनले अलैंची बिरुवा पनि बेच्न थाले ।
उनका अनुसार अलैंची दाना र बिरुवा बिक्री गरी उनले वार्षिक १०/१५ लाख आम्दानी गर्दै आएका छन् । ‘विदेशमा वार्षिक तीन लाख जति कमाइ हुन्थ्यो तर अहिले परिवारको साथमा घरमा बसीबसी १० लाख बढीसम्म वार्षिक आम्दानी हुन्छ,’ उनी भन्छन् । उनी नेपाल अलैंची व्यवसायी महासंघ लमजुङ शाखाका निर्वतमान अध्यक्ष तथा हाल गण्डकी प्रदेशको संयोजक समेत हुन् । उनले रोजगारीका लागि गाउँ छाड्ने र विदेशमा रहेका युवालाई गाउँ फर्किएर अलैंची खेती गर्दै जीवन परिवर्तन गर्न आग्रह गर्दै आएका छन् ।
त्यस्तै, सोही वडास्थित लुदीका सोमबहादुर तामाङ पनि एक सफल अलैंची किसान हुन् । उनले मलेसियामा १५ वर्ष श्रम बेचे तर आर्थिक हैसियत उकासिएन । यतिबेला सोमबहादुरले ६० रोपनी क्षेत्रफलमा लगाएको अलैंचीबाट घरमै बसेर वार्षिक चार/पाँच लाख आम्दानी गर्दै आएका छन् ।
धान, मकैभन्दा अलैंची खेतीले राम्रो आम्दानी हुने गरेको र परिवारको गुजारा चलाउन सहज भएको उनको भनाइ छ । उनका अनुसार गाउँका स्थानीय अलैंची खेतीतर्फ आकर्षित भएर लुदीका ४२ घरधुरीले बारापोखरी कृषक समूह दर्ता गरी एक हजार पाँच सय रोपनीमा समेत अलैंची खेती सुरु गरेका छन् । पहिलोपटक यस वर्ष १० क्विन्टल अलैंची दानासमेत उत्पादन भएको उनले बताए ।
कम मेहेनतमै राम्रो आम्दानी दिने भएकाले अलैंचीप्रति गाउँलेको ध्यान केन्द्रित हुन थालेका छन् । छिनखोलाका बलराम लामा पनि अजय र सोमबहादुर जस्तै विदेशबाट फर्किएर अलैंची खेती थाल्ने अर्का सफल कृषक हुन् । उनले पनि वार्षिक पाँच लाखभन्दा बढी आम्दानी अलैंची खेतीबाटै गर्दै आएका छन् ।
अलैंची खेतीले स्थानीयको आर्थिक हैसियत मात्र होइन, भाग्य नै बदलिदिएको पछि जिल्लाका किसान पछिल्लो समयमा अलैंची खेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा हाल एक हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुँदै आए पनि एक हजार दुई सय हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ ।
जिल्लामा गत वर्ष ३५ मेट्रिक टन अलैंची दाना उत्पादन भएको थियो । गत वर्षको तुलनामा करिब ८५ प्रतिशत वृद्धि भएको अलैंची कृषकको अनुमान छ । जिल्लामा लगाइएको अलैंचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैंचीका दाना भारत हुँदै विभिन्न देशमा पुग्ने गरेको छ ।
अलैंची व्यवसायमा जिल्लाका किसानको भविष्य राम्रो रहेको छ विगतमा धेरै राम्रो कम हुँदै गएको र सरकारले उचित व्यवस्था गर्नुपर्नेमा नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश संयोजक तामाङले बताए । जिल्लाका किसानले यस वर्ष अलैंची दाना प्रतिकिलो छ सयदेखि सात सयसम्म बिक्री गरेका छन् ।
मर्स्याङदी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकामा जिल्लाको सबैभन्दा बढी अलैंची खेती हुने गरेको अलैंची किसानको भनाइ छ ।
प्रकाशित समय : १४:५६ बजे

















