गृहपृष्ठ रसुवा, धादिङ र नुवाकोटका थप चारवटा दूरसञ्चार साइट पुनः सञ्चालनमा
रसुवा, धादिङ र नुवाकोटका थप चारवटा दूरसञ्चार साइट पुनः सञ्चालनमा
काठमाडौँ- नेपाल टेलिकमले बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका थप चारवटा दूरसञ्चार साइट पुनः सञ्चालनमा ल्याएको छ।
नेपाल टेलिकमका अनुसार भदौ १५ गते रसुवाको जिबजिबे र सरमथली, धादिङको बेनीघाट तथा नुवाकोटको त्रिशूली बजार साइट सुचारु गरिएको हो।
यससँगै बाढीबाट प्रभावित कुल १२० साइटमध्ये ११० साइट पुनः सञ्चालनमा आएका छन्। रसुवाको जिबजिबे टावर सुचारु भएपछि भोर्ले, चिती, गाइसौरा भोर्ले लगायत नौकुण्ड गाउँपालिका-५ र ६ का विभिन्न स्थानका सेवाग्राही लाभान्वित हुनेछन्।
यस्तै, सरमथली टावर सञ्चालनमा आएपछि यार्सा, लच्याङ, सिमबन्दी, बिजिली जोङ लगायत आसपासका क्षेत्रका सेवाग्राहीले दूरसञ्चार सेवा सहज रूपमा प्रयोग गर्न पाउने भएका छन्।
धादिङको बेनीघाट साइट सुचारु भएसँगै बेनीघाट बजार र आसपासका क्षेत्रमा सञ्चार सेवा पुनः सहज भएको छ। नुवाकोटको त्रिशूली बजार साइट सञ्चालनमा आएसँगै त्रिशूली बजार, ढुंगे तथा आसपासका क्षेत्रमा पनि दूरसञ्चार सेवा नियमित बनेको नेपाल टेलिकमले जनाएको छ।
प्रकाशित समय : १५:४३ बजे


















