गृहपृष्ठ साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित
साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल उपविजेतामै सीमित
बंगलादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बंगलादेशसँग पराजित हुँदै उपविजेतामै सीमित बनेको छ ।
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बंगलादेशसँग ३-० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो । बंगलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो ।
बंगलादेशको जितमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान एक/एक गोल गरिन् । राउण्ड रोबिनको आधारमा भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । प्रतियोगितामा चार राष्ट्र सहभागी थिए ।
प्रतियोगितामा भुटान र भारत भने यसअघि नै बाहिरिएको थियो । यसअघि भएको लिग चरणको पहिलो खेलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । त्यस्तै नेपालले भुटानलाई ४-० र भारतलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो ।
भारतसँग गोलरहित बराबर खेलेको बंगलादेशले भुटानलाई ५-० गोलअन्तरले पाखा लगाएको थियो ।
प्रकाशित समय : २०:४९ बजे




















