nmb bank

गृहपृष्ठ लामिछानेको लाजनीति

लामिछानेको लाजनीति

लामिछानेको लाजनीति

आखिर त्यही भयो, जसको अनुमान थियो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थन कायम राख्दै आजदेखि सरकारबाट बाहिरिएको छ ।

नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति लामिछानेले पुनः गृहमन्त्री बन्न न्वारनको बल लगाएकै थिए । केपी ओली लगायतका ब्रम्हास्त्र प्रयोग गरेकै पनि हो । तर जति गर्दा पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गलाउन नसकेपछि आखिर लामिछानेको अगुवाईमा रहेको पार्टीले अहिलेलाई सिंहदरबारलाई बाईबाई गरेको छ । आफ्ना सबै मन्त्रीहरुलाई सरकारबाट फिर्ता बोलाएको छ ।

लामिछानेले गृहमन्त्री नपाएको रिस यस्तरी देखाए कि त्यसको प्रतिबिम्ब आज उनले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि देखिन्थ्यो । सरकार छाड्नुपर्ने कारणमा उनले कुनै तर्क दिन सकेनन् । आज उनले केवल तीन काम गरे । कुण्ठा पोखे । लाचारी प्रकट गरे । स्वाँठ शैलीमा आफूलाई प्रस्तुत गरे ।

लामिछानेको नागरिकताको विषयमा छानबिन चलिरहेकै बेला स्वार्थ बाझिने गृह मन्त्रालयको लागि मरिहत्ते गरेपछि ओलीको जोडबलका कारण प्रधानमन्त्री उनलाई गृहमन्त्रालयको जिम्मेवारी दिन बाध्य भएका थिए । तर अदालतले उनको गृह-यात्रामा रोक लगाइदियो । सांसद पद गुम्यो । गृहमन्त्री पद पनि फुत्कियो । अर्को मन्त्रालय लिनका लागि गरिएको आग्रह लामिछानेलाई मान्य भएन । परिणाम, नाकको फोहरा फुलाउँदै ‘गृह नपाए सरकारमा बसिन्न’ भन्दै सत्ताको भर्‍याङबाट ओर्लिए । एक महिना पनि नपुग्दै लामिछाने र उनको टिम सिंहदरबारबाट बाहिरियो ।

बिर्सन नहुने कुरा के हो भने लामिछानेमाथि राहदानी अपचलनको आरोपसमेत छ । उनको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ आइसकेको छैन । उनको राहदानी मुद्दामा प्रहरीले अनुसन्धान गर्ने ‘फुर्सद’समेत निकाल्न सकेको छैन ।

पत्रकारिता गरिरहेको बेला कानुनी शासनको कुरा गर्ने लामिछाने गृहमन्त्री नै गैरकानूनी रुपमा बनेका रहेछन् । चितवन-२ बाट चुनाव जिते, त्यो पनि गैरकानूनी नै ठहर भयो । पार्टी सभापति पद पनि गैरकानूनी ढंगबाट चट्काएका रहेछन् । अदालतको आदेश नमान्ने छुट लामिछानेमात्र होइन, कसैलाई पनि छैन ।

कानूनी शासनको धज्जी उडाउने लामिछानेको कर्म प्रष्ट देखियो । गृहमन्त्रालय नै चाहिन्छ भनेर दादागिरी देखाए । पदप्रतिको यत्तिको आशक्ति देखाउने र त्यो नपाए सरकार छाड्ने लामिछानेलाई चितवन-२ का मतदाताले यही दिन देख्नका लागि संसदमा पठाएका थिए ?

अब प्रश्न उठ्छ- महिलालाई वस्तु ठान्ने र राजनीतिलाई बालहठ मान्ने अनि जनताको आशालाई फगत भोट बैंक जान्ने लामिछानेलाई अबको उपचुनावमा चितवन–२ का जनताले किन आफ्नो मत दिने ? केका लागि दिने ?

प्रकाशित समय : १८:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु