गृहपृष्ठ काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली
काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली
सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आएका कृष्ण रसाइली । धनकुटालगायत पहाडी जिल्लाका धेरै नागरिक सेवा सुविधा र रोजगारका लागि तराइमा बसाइँसराइ गर्न लहर चलेको छ । तराईमा जमिन किन्न होडबाजी छ । तर त्यसको विपरीत ४० वर्षीय रसाइली भने काष्ठकला उद्योग सञ्चालनका लागि पाँच वर्षअघि बसाइँसराइ गरी धनकुटा गएका थिए ।
रसाइली मोरङको पथरी शनिश्चरे नगरपालिका–८ बाट महालक्ष्मी नगरपालिका वडा नं ९ को ग्रामीण क्षेत्रमा आएको हो । विसं २०६३ मा उनले रोजगारका सिलसिलामा मलेसिया गएका थियो । सोचेजस्तो पारिश्रमिक नपाउँदा खान–बस्नसमेत नपुगेपछि रसाइली त्यहाँबाट भागेर अवैधानिकरूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डका रूपमा काम गरेका थिए।
सो समयमा मासिक रु १८ हजार नेपाली तलबमा काम गएका रसाइली अनधिकृतरूपमा काम गरेको आरोपमा जेल परेर २०६८ सालमा नेपाल फर्किनु पर्यो उनले भने, “विदेश बसेर पैसा कमाउन सकिएन, नेपाल आएर पुख्र्यौली पेसामा लागेँ ।”
पुख्र्यौली पेसा काठको काम गर्ने (चुँदार) भएकाले रसाइली सोही कामका लागि सात वर्षअघिबाट धनकुटाका विभिन्न खोलामा काठका सामान बनाउँदै आएका छन् । पानीघट्टको सहाराले काठलाई कुँदेर गरिने कामलाई रसाइलीले व्यावसायिक बनाएका हुन् ।
रसाइलीले अनुभवका आधारमा सम्भावना देखेर २०७५ देखि घरमै उद्योग सञ्चालन गरे । दुई वर्षअघि घरेलु ठेकी तोङ्वा उद्योग दर्ता गरेका रसाइलीले मासिक रु २० हजार पारिश्रामिक दिएर दुई सहयागी र रु ५५ हजार पारिश्रमिक दिएर तीन कालिगढ राखेका छन् ।
साठीदेखि ७० प्रकारका काठका सामग्री बनाएर बिक्री गर्दैआएका रसाइलीले एउटा सामानको रु दुई सयदेखि रु २२ हजारसम्ममा बिक्री गर्दै आएका छन्। वार्षिक रु २५ लाखदेखि रु ४० लाखसम्म कारोबार गरेर मासिक रु दुई लाख कमाइ भइरहेको छ रसाइलीले भने, “श्रम र सीप हुनेलाई नेपालमै काम र दाम पर्याप्त छ ।”
समय र उमेर रहेकै बेला विदेश र अन्यत्र भौतारिनुभन्दा बेलैमा सीप सिकेर उद्यमशील बन्नुपर्ने युवाहरूलाई उनको सुझाव छ । कुनै तालिम नलिई युट्युबमा हेरेर विभिन्न सामग्री तयार गरेर रसाइलीले ताप्लेजुङ, इलाम, सुनसरी, झापा, काठमाडौँलगायत क्षेत्रमा बेच्दै आएका छन् ।
महालक्ष्मी नगरपालिकाको जीतपुर बजारमा हरेक वर्षको श्रीपञ्चमीमा लाग्ने वसन्त पञ्चमी मेलामा कक्ष लिदै आएका रसाइलीले आफ्नो व्यवसाय प्रवद्र्धनमा नगरपालिकाले सहयोग गरेको जानकारी दिए ।
प्रकाशित समय : ११:०६ बजे



















