स्पेनिस क्लब कासेरेन्योको टोली नेपालमा
वि.सं.२०७९ पुस १२ मंगलवार १३:५९
shares

मैत्रीपूर्ण खेलका लागि स्पेनिस फुटबल क्लब कासेरेन्यो सिपीको टोली नेपाल आइपुगेकाे छ । स्पेनको दोस्रो डिभिजन क्लब कासेरेन्योको ५० सदस्यीय नेपाली टोली मंगलबार नेपाल आइपुगेकाे हाे ।
कासेरेन्योको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पोखरा पुगेकाे छ । स्पेनिस टोलीले पोखरा र काठमाडौंमा स्थानीय टिमसँग एक/एक मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ ।
स्पेनस्थित नेपाली राजदुतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले कासेरेन्योको नेपाल भ्रमण आयोजना गरेको हो । ‘शान्तिका लागि फुटबल’को नाराका साथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यमा हुन लागेको मैत्रीपूर्ण भ्रमणमा कासेरेन्योले गण्डकी-११ र काठमाडौं-११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरुङ कप्तानीमा रहने गण्डकी-११ को प्रशिक्षणको जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन् । टोलीमा प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको उपस्थिति रहने बताइएको छ ।
यसैगरी काठमाडौं-११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्वकप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् ।
कासेरेन्योले बुधबार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

























