काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता हो’

9.66K
shares

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भइसकेको बताएका हुन् ।

मंगलबार बिहान भएको नेपाल उद्योग वाणिज्य महासंघकाे पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि बताए । ‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुभयो, त्यही विषयमा तपाईंहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ । सरकारले यसलाई गम्भीर रुपमा लिन्छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भएको भेटमा मुलुकको अर्थतन्त्रको पुनरुत्थानबारे विचार विमर्श भएको महासंघकाे भनाइ छ । महासंघ अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिंगाे निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिँदै अर्थतन्त्रको वर्तमान अवस्थाबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले महासंघकातर्फबाट यसअघि दिइएको सुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्ष गोल्छाले प्रधानमन्त्री आफैँ पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहेकाले यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको स्मरण गराए ।

उनले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालूपूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव राखे ।

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारको सिंगाे ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाको जोड थियो ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डसँग नेपाल उद्योग परिसंघले पनि भेटवार्ता गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ प्रतिनिधिमण्डलले आज बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भेटवार्ता गरेको हो ।

सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले निजी क्षेत्रको तर्फबाट बधाई एवं शुभकामना दिँदै चुनौतीपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रको सुधार नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव दिएका थिए ।

परिसंघले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणा प्रधानमन्त्रीसमक्ष पेस गरेको छ । परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवर्द्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपायसमेत सुझाएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रबाट यस्तै खालको सुझाव खोजेको बताए । ‘मैले निजी क्षेत्रबाट यस्तै अपेक्षा गरेको थिएँ । परिसंघले स्पष्ट रुपमा सुधारका योजना दिएको छ, यसका लागि परिसंघलाई धन्यवाद,’ उनले भने ।

प्रधानमन्त्री दाहालले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधान गर्नुमै रहेको र यसका लागि परिसंघसँग सरकारले सहकार्य गर्ने बताए । ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौंं । निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्नेछौं,’ उनकाे भनाइ थियाे ।