अमेरिकामा हिमबर्षाले करौडौं मानिस प्रभावित, १८ जनाको मृत्यु
वि.सं.२०७९ पुस १० आइतवार १३:४७
shares

अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौं मानिसहरू चिसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् ।
लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्रयाकिङ साइट फ्लाइटअवेयरले जनाएको छ । अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित समस्याहरूसँग जुध्न संकटकालीन कदमहरू चालिएको छ । चिसोका कारण कम्तीमा १८ व्यक्तिले ज्यान गुमाएका छन् ।
अमेरिकाको बफेलोमा तीन, ओहायोमा पाँच, मिसौरीमा एक चालकसहित चार, भर्मोन्टमा एकसहित अमेरिकाभरी १८ जनाको मृत्यु भएको सम्बन्धित राज्यको स्थानीय प्रशासनले पुष्टि गरेको छ । मोन्टाना राज्यमा अहिलेसम्मकै कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ भने करिब १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौं उडानहरू रद्द भएका छन् ।
चीसो आगामी हप्तासम्म कायम राख्ने पूवानुमान मौसमविद्हरूले गरेका छन् । खराब मौसमले मानिसहरूको व्यवस्थित क्रिसमस योजनालाई बिथोलेको छ । अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले गत शुक्रबार गरेको मौसमसम्बन्धी पूर्वानुमानअनुसार यो बर्ष अमेरिकामा लामो समयसम्म अत्यधिक चीसो रहने बताएको छ ।

























