गृहपृष्ठ फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
अर्जेन्टिनाले कतारमा आयोजना भएको फिफा विश्वकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।
अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको हो । अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि जितेकाे थियो । फ्रान्स भने लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ । फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।
लुसेल स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएको थियो । थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा ३-३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा गोलकिपर इमिलियानो मार्टिनेज चम्किँदा अर्जेन्टिनाले बाजी मार्यो ।
अर्जेन्टिनाका लियोनल मेस्सी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । फ्रान्सका केलियन एमबाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । तर, किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुके ।
त्यसअघि खेलमा सुरुआती अग्रता अर्जेन्टिनाले बनाएको थियो । खेलको २३औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । यस गोलसँगै विश्वकपमा कीर्तिमानी २६औं खेल खेलेका मेस्सी समूह चरणबाट फाइनल चरणसम्म गोल गर्ने पहिलो खेलाडी बनेका छन् । खेलको ३६औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै फ्रान्सलाई २-० गोलको अग्रता दिलाए । उनले म्याक एलिस्टरको पासमा गोल गरे ।

तर, दोस्रो हाफमा केलियन एमबाप्पे चम्किदा फ्रान्सले पुनरागमन गर्याे । ८०औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-१ को स्थितिमा ल्याए । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले राण्डल कोलो मुवानीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । खेलको ८१औं मिनेटमा मार्कुस थुरामको पासमा उत्कृष्ट गोल गर्दै एमबाप्पेले फ्रान्सलाई २-२ गोलको बराबरीमा ल्याए ।
अतिरिक्त समयमा समेत दुवै टोलीले थप एक/एक गोल गरेको थियो । खेलको १०९औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई पुन: ३-२ को अग्रता दिलाए । तर, खेलको ११८औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३-३ गोलको बराबरीमा ल्याएका थिए । अर्जेन्टिनाका गोन्जालोले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो ।
त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र पेनाल्टीमार्फत उपाधिकाे छिनाेफानाे गरिएकाे थियाे ।

प्रकाशित समय : ००:१५ बजे


















