गृहपृष्ठ रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग

रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग

रसुवा बाढीपीडितका लागि स्थानीय तहद्वारा ११ लाख सहयोग

बैतडी । बैतडीका पाँच स्थानीय तहले रसुवा बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि ११ लाख सहयोग गर्ने भएका छन् ।

बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागी दशरथचन्द नगरपालिकाले तीन लाख सहयोग उपलब्ध गराउने नगरप्रमुख पुष्करराज जोशीले जानकारी दिए । नगर प्रमुखस्तरीय निर्णय अनुसार विपद् प्रभावित नागरिकका लागि राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको उनले बताए ।

यस्तै पाटन नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख ५० हजार जम्मा गर्ने लागि नगरप्रमुख गौरीसिंह रावलले बताए । दोगडाकेदार गाउँपालिकाले कोषमा २ लाख उपलब्ध गराउने निर्णय गरेको सो गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए । यस्तै जनप्रतिनिधिको दुई दिन बराबरको पारश्रमिक पनि कोषमा जम्मा गर्ने निर्णय भएको उनले बताए ।

यसैगरी शिवनाथ गाउँपालिकाले बाढीपीडितका लागि दुई लाख सहयोग गर्ने भएको छ । विपद् व्यवस्थापन समितिको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ । सिगास गाउँपालिकाले कोषमा एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताए ।

बाढीपछि आठ जना सम्पर्कविहीन

भोटेकोशीमा गएको बाढीपछि बैतडीका आठ जना सम्पर्कविहीन भएका छन् । दुई जना सुरक्षाकर्मीसहित उनीहरु सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

डिलाशैनी गाउँपालिकाका तीन, सुर्नया गाउँपालिकाका दुई तथा सिगास, पञ्चेश्वर र दोगडाकेदार गाउँपालिकाका एक /एक जना सम्पर्कविहीन रहेका छन् । त्रिशूली हाइड्रोपावरमा कार्यरत सुर्नया गाउँपालिका–६ का ३१ वर्षीय हरिश चन्द, रसुवा हाइड्रोपावरमा कार्यरत पञ्चेश्वर गाउँपालिका–६ बिजुलका ४० वर्षीय देवबहादुर चन्द सम्पर्कविहीन रहेका छन् ।

त्यस्तै, डिलासैनी गाउँपालिका–७ धामीगाउँका २८ वर्षीय पूर्णसिंह धामी र २७ वर्षीय विशाल धामी, रसुवाको सशस्त्र प्रहरी बीओपी टिमुरेमा कार्यरत डिलासैनी–२ मल्ला छेपट्टाकी बिनिता बोहरा तथा लाङटाङ हाइड्रोपावरमा कार्यरत सुर्नया गाउँपालिका–५ बिष्टपालीका २५ वर्षीय केशव बिष्ट पनि बाढीपछि सम्पर्कविहीन छन् ।

यसैगरी, इलाका वन कार्यालय इलाममा कार्यरत रही नुवाकोटमा परीक्षा दिन गएका सिगास गाउँपालिका–७ का २३ वर्षीय लक्ष्मण ऐर र रसुवागढी प्रहरी चौकीमा कार्यरत दोगडाकेदार गाउँपालिका–२ का हिक्मत महरा पनि बाढीपछि सम्पर्कविहीन भएका प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु