global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सत्ता ‘कब्जा’ गर्न अध्यादेशको दुरुपयोग

सत्ता ‘कब्जा’ गर्न अध्यादेशको दुरुपयोग

सत्ता ‘कब्जा’ गर्न अध्यादेशको दुरुपयोग

जनहितमा केन्द्रित रहेर देशको कानुन निर्माण गर्न भर्खर सम्पन्न निर्वाचनमा जनताबाट निर्वाचित २७५ जना सांसद संसद पस्दैछन् । त्यसरी पस्दै गर्दा उनीहरुको पहिलो जिम्मेवारी हुनेछ, निर्वाचनको क्रममा जनतासमक्ष गरिएका वाचाहरु कार्यान्वयन गर्ने । यसपटकको निर्वाचनले दिएको सन्देश हो ‘तिमीहरु सच्चिइनु पर्‍यो, नत्र समाप्त हुनेछौ ।’ यो मर्मलाई हाम्रा निर्वाचित सांसदहरुले कम्तिमा यो पाँच बर्ष आफ्नो स्मृतिमा सधैं ताजा राख्नुपर्ने छ ।

तर अहिले केही दिनको पाहुना रहेको शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अध्यादेशको चरम दुरुपयोग गरेर नयाँ सरकार पनि आफ्नै ‘कब्जा’मा राख्न घृणित खेलको सुरुवात गरेको छ । यो गठबन्धन सरकारले विगतको ओली सरकारको सिको गर्दै लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई रछ्यानमा मिल्काउने कसम नै खाएजस्तो छ । आगामी सरकारको नेतृत्व पनि यही गठबन्धनले लिने हो भने आगामी पाँच बर्षमा नेपालको भविष्य के होला ? अनुमान गर्न सकिन्छ ।

आगामी सरकार ‘फुस्रो विरुवाको फुस्रै पात’ हुने प्रारम्भिक लक्षण ताजा अध्यादेश प्रकरणले देखाइसकेको छ । किनकी, अघिल्लो निर्वाचनको जनादेशअनुसार बनेको यो सरकारले केवल केही थान व्यक्तिहरुको सत्ता स्वार्थअनुसार अध्यादेशको आडमा फौजदारी कानुन संशोधन गरेको छ । जबकी अदालतमा रहेका जघन्य फौजदारी मुद्दा सरकारले फिर्ता लिन सक्ने कानुनी व्यवस्था नै छैन भन्ने जान्दाजान्दै पनि पेलेर अध्यादेश ल्याउन गरिएको प्रपञ्च लोकतन्त्रको आधारभूत मान्यतामाथिको भद्दा मजाक हो । जबकी, सात प्रहरी र एक बालकको हत्या गरिएको टीकापुर घटनाको मुख्य योजनाकार भएको आरोपमा रेशम चौधरीमाथि अदालतमा मुद्दा जारी छ ।

जनता, अदालत र प्रहरीमाथि सरासर अपमान हो यो, संसद नभएको मौका पारेर यो गठबन्धन सरकारले जुन गल्ती गर्‍याे, त्यो क्षमालायक छैन । समय, जनादेश, संविधान, कानुन वा राजनीतिक नैतिकताको दृष्टिले पनि उपयुक्त भएको मान्न सकिने कुनै पनि आधार बाँकी छैन ।

रेशम चौधरी लगायतका केहीलाई जेलबाट छुटाएर ‘अन्यायबाट मुक्ति दिन’ ल्याइएको भनिएको यससम्बन्धी विधेयक यसअघिको संसदमा लैजान यो गठबन्धन सरकारलाई कसले छेकेको थियो ? के डेढ वर्षको समय पर्याप्त थिएन ? के संसदमा बहुमत थिएन ? यो दुवै थियो । अहिले सत्तामा उक्लिनका लागि मात्र चौधरी र अध्यादेशको स्मरण भएको हो भन्ने कुरा नबुझ्ने कोही छैन ।

चौधरीलगायत व्यक्तिमाथि अन्याय भएको यो सरकारलाई लागेको हो भने आगामी संसदमा छलफल गर्नुका साथै बहुमतका आधारमा विधिवत् कानुन संशोधन गरेर जेलमुक्त गर्नुपर्छ । ठूला भनिएका पुराना दलका नेताहरु जहिले जहिले सत्तामा पुग्छन्, कानुनी शासनलाई आफ्नै बगलीको सामान ठान्छन् । त्यसलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्छन् । कानुनी राजको उपहास गर्नु त उनीहरुको पुरानै बानी हो । यसपटक पनि उनीहरुले त्यही गरे, जुन उनीहरुको अम्मल बनिसकेको छ ।

प्रष्ट छ, हाम्रा यी नेताहरु जनताबाट निर्वाचित भएर आए पनि सुध्रिने छैनन् । यसपटकको निर्वाचनले दिएको सन्देशबाट यिनीहरुको घैँटोमा घाम लाग्छ कि भन्ने आशा थियो । दुर्भाग्य, त्यो हुन सकेन । तर पनि घामको उज्यालो रहेसम्म यिनीहरुको घैँटोमा घाम लागिहाल्छ कि भन्ने आशा राख्न सकिन्छ ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु