global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ छैटौं बर्षमा न्युजकारोबार : स्पष्ट यात्रामा हाम्रो प्रण

छैटौं बर्षमा न्युजकारोबार : स्पष्ट यात्रामा हाम्रो प्रण

छैटौं बर्षमा न्युजकारोबार : स्पष्ट यात्रामा हाम्रो प्रण

सरदर तीन करोड जनसंख्या रहेको नेपालका लागि कति मिडिया आवश्यक छ ? नेपालको विज्ञापन बजारले कति मिडिया धान्न सक्छ ? यस विषयमा कुनै अध्ययन त भएको छैन । तर यो अहिलेको अहम् प्रश्न हो भने चुनौती पनि । किनकि आजभोलि मिडियाको घनघोर बर्षा छ । बग्रेल्ती खुलेका छापा र विद्युतीय सञ्चारमाध्यमको पहुँच कहाँ छैन ? यसले नागरिक तहमा सूचनाको सञ्चार त गराएको छ नै, सँगसँगै विकृतिको जालोसमेत फालिदिएको छ । अन्धाधुन्ध ‘फायरिङ’ले मिडियाको विश्वसनियता घटेको छ । आममानिसमा मिडियाप्रतिको धारणा नकारात्मक बन्दै गएको छ । जुन नेपाली सञ्चारमाध्यमका लागि सबैभन्दा चुनौतीपूर्ण विषय हो । पाठकको विश्वास जित्ने सन्दर्भमा निहीत स्वार्थबाट प्रेरित भएर परिचालित हुने मिडियाले यसमा झन बल पुर्‍याएका छन् । तर त्यस्ता मिडिया व्यवसायिक जिम्मेवारीबाट च्यूत भएका उदहारण पनि धेरै छन् ।

यस्तै चुनौतीलाई चिर्दै पत्रकारिता जगतमा न्युजकारोबारले उपस्थिति जनाएको पनि आज पाँच बर्ष पुरा भएको छ । छैटौं वार्षिकोत्सव मनाइरहँदा हामीले आफ्नो यात्रामा सम्झनलायक र बिर्सनलायक दुवैखाले संस्मरणहरु समेटेका छाैं । खासगरी, सिक्ने र अगाडि बढ्ने क्रममा अनेकन समस्याहरु नआएका होइनन् । तर पनि हामी डगमगाएका छैनौं । अझैं गर्विलो पदचापहरु कोर्नका लागि पत्रकारिताको लामो यात्रालाई भरपर्दाे बनाइरहेका छाैं ।

न्युजकारोबार ‘इफ’ वा ‘बट’ हेर्दैन । जे देख्छ, त्यो लेख्छ । हामीले निरन्तर लेखिरह्यौं जनतासँग जोडिएका मुद्धाहरु । विकृतिले पारेका भ्वाङहरु । उजागर गरिरह्यौं दबाइएका अन्तरबस्तुहरु । अन्तरकथाहरु र पीडाहरु । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका कयौं विषयलाई हामीले समाचार बनाएका छौं । कर्णालीको भोकमारीमात्रै देखाएनौं । त्यहाँको सम्भावनालाई पनि उत्तिकै जबरजस्त उठाएर केलाएका छौं ।

पत्रकारितालाई आवाजविहिनहरुको आवाज बनाउन यात्रा अविचलित जारी छ । शासक र सरकारलाई निरंकूश हुन नदिन खबरको पहरेदारी झनै सशक्त छ । भ्रष्टाचार र अनियमिताका विरुद्ध हामी जहिल्यै अग्रभागमा उभिएका छौं । कसैको डर, त्रास, धम्की र प्रलोभनमा नपरी सत्यलाई तथ्यसहित प्रमाणित गर्न हामी कटिबद्ध छौं । किनकि तथ्यहिन समाचार प्रवाह गर्ने गलत प्रवृत्ति व्यवसायिक पत्रकारिताको ‘कालो धब्बा’ हो भन्ने हाम्रो बुझाई छ । पत्रकारिताको मूलभूत सिद्धान्तमा अडिग रहन्छौं । हामी खबरलाई अतिरञ्जित गर्दैनौं । भाइरल मोहका पछि पनि कुद्दैनाैं । फलतः निष्पक्ष र सन्तुलित समाचार दिनु हाम्रो विश्वसनियता बनेकाे छ ।

लोकतन्त्रको संस्थागत विकास, विधिको शासन, अविलम्ब न्याय, जनताको हित र दिगो विकास सहितको सुशासनका पक्षमा आवाज उठाउन न्युजकारोबार सधैं प्रतिवद्ध छ । सत्तालाई जनताप्रति जवाफदेही बनाउन हामीबाट कही कतै भुलचुक हुनेछैन । हामीलाई सही सूचना, विश्वास र प्रतिक्रिया सहितको सुझाव दिनुहुने सबैप्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

सामाजिक सद्भाव, आर्थिक विकास, सुसंस्कारयुक्त समाज निर्माण लगायतका गहन उद्देश्य प्राप्तिका खातिर हामी आफ्नो ठाउँबाट हरदम लागिरहने छौं । आगामी दिनमा हामी समर्पणको यस दायरालाई अझ व्यापक र गहन बनाउने प्रण गर्दछौं । सकारात्मक परिवर्तनको संवाहकको रुपमा न्युजकारोबारलाई स्थापित गर्न हामी कटिवद्ध छौं । यो हाम्रो निर्विकल्प लक्ष्य हो ।

प्रकाशित समय : ११:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु