गृहपृष्ठ उधौली पर्व मनाउँदै किरात समुदाय
उधौली पर्व मनाउँदै किरात समुदाय
प्रकृति पुजारी किरात समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ ।
‘किरात राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ,’ किराती राई यायोख्खाका अध्यक्ष जीवन हाताछो राईले भने, ‘यस चाडमा किराती एकापसमा भेला भएर संगठित रुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गरिन्छ ।’
किरातको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ । वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक देवताका पूजा गरेर आफ्ना पुर्खा/पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ ।
‘धर्ती तातो हुँदै जाँदा चराचुरुंगी लेकतिरको शीतलतर्फ जान्छन्, त्यो समयको चाड उभौली भनियो । यो समयमा चिसो बढ्दै जाँदा लेकका चराचुरुंगी तराईतिर झर्छन्, यसलाई उधौली भनिएको हो,’ किराती राई यायोख्खाका अध्यक्ष राईले बताए ।
यता, संस्कृति अध्यता भोगिराज चाम्लिङका अनुसार उधौली र उभौली चाड मनाउने तरिका फरक छ । उनले भने, ‘उभौलीमा ढोल झ्याम्टा बजाउने, साकेला शिली गरेर धर्तीलाई जगाउने प्रचलन छ । अब उधौलीमा पृथ्वीलाई सुत्न अर्थात् आराम दिनुपर्छ भन्ने विश्वास गरिन्छ । त्यसैले यस बेला प्रकृतिको पूजा गरे पनि धेरै होहल्ला गर्न हुन्न भन्ने धार्मिक मान्यता छ । तर पछिल्लो समय सहर बजारमा कृषि संस्कृति र जीवनशैली नभएका कारण उभौलीझैँ ढोल झ्याम्टा बजाउँदै नाचगानसमेत गरिन्छ ।’

किरात समुदायका मूलतः राई, लिम्बू, याक्खा र सुनुवारले नयाँ अन्नबाली पितृलाई चढाइ पितृपूजा गर्नुका साथै राम्रो फसलको लागि भूमिप्रति आभार प्रकट गर्दै भित्र्याइएका अन्नबालीमा घुन-पुतली नलागोस् र सहबनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । उधौली पर्वको अवसरमा परम्परागत वेषभूषा लगाई सार्वजनिकस्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्ने प्रचलनसमेत रहेको छ ।
राई समुदायले उधाैली साकेलासमेत भन्ने यस पर्वलाई लिम्बुले चासाेक तङनाम, याक्खाले चासुवा र सुनुवारले फाेलष्याँदर भन्ने गर्दछन् । यस अवसरमा आज ललितपुरकाे सानाे हातीवनस्थित किरात माङहिममा किरात समुदायले सामूहिक रूपमा पर्व मनाइरहेका छन् । यसपछि समेत उपत्यकाका विभिन्न स्थानमा नाचगान लगायतका कार्यक्रमहरू दुई सातासम्म आयोजना हुने किरात याक्खा छुम्माका उपत्यका समिति अध्यक्ष धनबहादुर देवानले बताए ।
प्रकाशित समय : १०:५४ बजे



















