global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ ‘अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक’

‘अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक’

‘अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक’

मुलुकको अर्थतन्त्र चलायमान बनाउनका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको राजनीतिक दलका नेता तथा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औंं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रमका वक्ताले अर्थतन्त्र सुधारको बाटोमा अघि बढेको भन्दै यसलाई थप चलायमान बनाउन नीतिगत र संरचनागत सुधारको आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रमा संकट नभएको र समग्र अर्थतन्त्रका सूचकांक पनि सुधारोन्मुख रहेको बताए । उनले अर्थतन्त्रमा देखिएका केही चुनौतीहरुलाई सामना गर्न सरोकारवालासँग छलफल र सहकार्य आवश्यक रहेको धाराा राखे । ‘अर्थतन्त्र संकटमा छ’ भन्नु बुझाइमा कमजोरी हो भन्दै उनले यस क्षेत्रमा देखिएका चुनौतीलाई निजी क्षेत्रसँगको सहकार्यमा समाधान खोजिनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री शर्माले पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्रमा सुधार भइरहेको उल्लेख गरे । ‘नेपालको अर्थतन्त्र संकटमा छैन, हाम्रा अगाडि केही चुनौती छन् ती चुनौती सामना गर्ने उपाय खोज्नुपर्छ तर, अर्थतन्त्र संकटमा छ भन्नु बुझाइमा कमजोरी हो । नेपालको मिश्रित खालको अर्थतन्त्र भएकाले तत्कालै संकट र उचाइमा पुग्ने होइन,’ उनले भने ।

यसअघि मुलुकको अर्थतन्त्रको सवाल र आगामी कार्यदिशाबारेको छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताए । उनले अर्थतन्त्रको समस्यालाई अब बन्ने सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए । ‘मुलुकको अर्थतन्त्र यहीँ अवस्थामा चल्न सक्दैन,’ उनले भने, ‘अब बन्ने सरकारले यो कुरालाई महसुस गरी प्राथमिकताका साथ निजी क्षेत्रको सहकार्यमा काम गर्नेछ ।’ अर्थतन्त्र सबल बनाउनका लागि निजी क्षेत्रको साथ आवश्यक भएको उनको भनाइ छ ।

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले मुलुकको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक भएको बताए । ‘निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ । अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ,’ उनले भने । अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि नीतिगत र संरक्षनागत सुधार हुनुपर्नेमा उनले  जाेड दिए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटमा अघि बढेपछि यसभित्र केही कमजोरी भएको बताए । उनले भने, ‘अर्थतन्त्रमा रहेका कमजोरी सुधार गर्न जरुरी छ, बजार सुधार्नेका लागि हामी खुला छौँ यसका लागि निजी क्षेत्रसँग छलफल र सहकार्य आवश्यक छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढे समृद्धिको लक्ष्य सार्थक हुने विश्वास व्यक्त गरे । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले नेपालले आर्थिक मुद्दालाई प्राथमिकतामा नराखेसम्म विकास र समृद्धि हासिल गर्न नसकिने भन्दै सरकार र निजी क्षेत्रको सहकार्य अझ बलियो बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन सरोकारवाला गम्भीर हुनुपर्ने धारणा राखे ।

प्रकाशित समय : १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु