काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भुसाललाई लडाएर बोहोरालाई यसरी उठाए ओलीले

38.64K
shares

दीपक बोहोरा, दुई शब्दमा ‘राजतन्त्रको हिमायती’ हुन् । साथै प्रजातन्त्र र कम्युनिष्ट सिद्धान्तको कट्टर विरोधी पनि ।

तत्कालीन प्रजातन्त्रको पक्ष लिएर सडकमा प्रजातन्त्र प्राप्तिको नारा लगाउने कांग्रेस–कम्युनिस्टलाई दिएको यातना विशेषगरी रुपन्देहीका कांग्रेस–कम्युनिस्ट नेता–कार्यकर्ताको मस्तिष्कमा ताजै छ । राजाले प्रजातन्त्रमाथि चलाएको त्यो धारिलो हतियारलाई कसैगरी भुल्न सकिँदैन । त्यसैको मतियार हुन्,बोहोरा ।

प्रजातन्त्र पुनःस्थापना गर्न संघर्षमा रहेका कांग्रेस–कम्युनिस्टलगायत तत्कालीन प्रजातन्त्रवादी नेताहरुबारे गोप्य जानकारी लिने र त्यसलाई राजाकहाँ पुर्‍याउने काम रुपन्देहीबाट बोहोराले नै गर्थे ।

जनताको शासन स्थापनाका लागि राजतन्त्रविरुद्ध उत्रिएकालाई जेलनेल र यातना उपहार स्वरुप दिन्थे बोहोरा । उनीमाथि पञ्चायतको ‘भूमिगत गिरोह’को सदस्य भएर काम गरेको आरोप पञ्चायतकालमा निकै चर्चामा थियो ।

कैयौँ, कांग्रेस र कम्युनिस्ट नेताहरु बोहोराकै सुराकबाट चरम यातना खेपेका थिए । जेलनेल सहेका छन् । कलिला हातमा हतकडी लगाइएका छन् ।

उबेला, राजा र तिनको शासनविरुद्ध बोल्नेहरुको नामोनिसान मेट्न बनेको ‘मण्डले’ हरुको एउटा डरलाग्दो अनुहार नै थिए, उनी । साथै रुपन्देहीका ‘गुन्डा नाइके’ पनि ।

उनै बोहोरा र उनको मण्डले समूहको मरणासन्न आक्रमणमा परेका थिए, भर्खरै एमाले छोडेका नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालको परिवार पनि । कम्युनिस्ट विचार राखेकै कारण, तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहेका कारण भुसालको परिवारले चरम यातना खेप्यो ।

बोहोराको पोको अझै खोलौं, २००७ सालतिर पाल्पामा जन्मिए पनि स्थायी रुपमा रुपन्देहीको भैरहवास्थित खजाना टोलमा बसे, बोहोरा । २०२४ सालदेखि राजाको गुणगान गाउने पात्रका रुपमा राजनीतिमा प्रवेश गरे ।

पञ्चायतकालमा विद्यार्थी मण्डलको नेता मात्रै भएनन् पछि मन्त्रीको पगरीसमेत पाए । ०३८ सालको पेरिफेरीसम्म पुग्दा बोहोरा मन्त्री भइसकेका थिए । उनी पर्यटनमन्त्री हुँदा ‘बोइङ काण्ड’को मतियारका रुपमा इतिहासले उनले सधैं सम्झिरहनेछ ।

दुई वर्षअघिसम्म राप्रपा प्रजातान्त्रिकको उपाध्यक्ष थिए । कमल थापा अध्यक्ष हुँदा राप्रपासँग एकता गरेर राजा र उनको शासनलाई पुनः नारायणहिटी फर्काउनुपर्छ भन्ने उनको विचार छ । उबेला प्रजातन्त्र पुनःस्थापनाका लागि लडिरहेका राजनीतिक दलका नेता–कार्यकर्तालाई जेलनेल र यातना दिलाउने बोहोरा लोकतन्त्र हुँदै मुलुकमा गणतन्त्र आउँदा पनि चुनाव लड्न छाडेका भने छैनन् ।

अहिले उनलाई राप्रपाले रुपन्देहीको निर्वाचन क्षेत्र १ र ३ बाट सर्वसम्मत सिफारिस गरेको गरेको थियो । साम, दाम, दण्ड र भेद सबै प्रयोग गरेर उनी चुनाव लडेर जित्ने तरखरमा थिए । उनको पहिलो योजना दुई महिनाअघि नै सफल भएको थियो ।

एमाले अध्यक्ष केपी ओलीको बुई चढेर भुसालको राजनीतिक जीवनमाथि प्रहार गर्न चाहन्थे । त्यसमा उनी सफल पनि भए ।

हिजो निरंकुश शासन र सत्ताविरुद्ध आवाज उठाउनेलाई अपराधी मानिन्थ्यो । उनीहरुलाई अपराधीसरह जेलको हावा खुवाइन्थ्यो । सकारात्मक परिवर्तनको पक्ष लिएर लड्नेलाई अँध्यारो कोठामा पुर्‍याइन्थ्यो । अर्थात् जेलमा । भुसाल पनि तीन वर्षसम्म त्यहीँ अँध्यारो कोठामा बसे । विद्यार्थीकालदेखि कम्युनिस्ट राजनीति गर्न सुरु गरेका भुसाल पश्चगामी बाटोविरुद्ध सधैँ उभिन्छन् भन्ने आम छाप छ ।

अनेरास्ववियूदेखि राजनीति गरेका उनले एमालेको उपमहासचिवसमेतको जिम्मेवारी निर्वाह गरिसकेका छन् । चितवनमा भएको एमालेको दशौं महाधिवेशनमा ओली टिमले उनलाई पराजित गर्‍यो ।

मन्त्रीसमेत भइसकेका उनी ०७४ सालको निर्वाचनमा पनि रुपन्देही ३ बाट झन्डै ३३ हजार मत ल्याएर विजयी भए । त्यतिबेला, उनले उनै बोहोरालाई पराजित गरेका थिए । भुसालले ३२ हजार ८ सय ६६ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकबाट उठेका बोहोराले २७ हजार ४ सय २२ मत ल्याएका थिए । उनै भुसाललाई यसपटकको निर्वाचनमा एमालेले टिकटबाट वञ्चित गर्‍यो । भुुुुसाल रुपन्देहीको क्षेत्र नम्बर १ बाट उम्मेदवार त बने तर एमालेका छविलाल विश्वकर्मासंग पराजित भए ।

निर्मलनिवासबाट राजालाई नारायणहिटीमा ल्याउने सोचेको राप्रपासँग एमालेले यो चुनावमा घाँटी जोडेको छ । यही गठबन्धनको कारण देखाउँदै आफ्नो बलियो उम्मेद्वार भुसाललाई टिकट नदिएर अध्यक्ष ओलीले राप्रपाको हलो चिह्नबाट चुनाव लड्ने बोहोरालाई भोट दिन आफ्ना कमरेडहरुलाई हुकुम जारी गरे । उनले जित पनि हासिल गरे ।

तर, एउटा मण्डलेका लागि ओलीको ‘कम्युनिस्ट धोती’ यसरी खुस्किन्छ भन्ने कमैले कल्पना गरेका थिए । आफ्ना बलिया उम्मेद्वारलाई नियतवश ओलीले आफ्नो पुरानो शैलीबाट पन्छाए । एमाले नीति र थितिमा नचलेको प्रमाणित गराए ।

ओलीको यो निर्णयले अर्को कुरा पनि सिद्ध भएको छ – ४५ वर्षसम्म एमालेमा रहेर राजतन्त्र, निरंकुशतन्त्रविरुद्ध आवाज बोल्ने एमालेका कमरेडहरुले ‘ओली शासन’ रहुन्जेल मण्डलेका लागि पटक–पटक शहादत भोग्नै पर्छ– भुसाल यसको ताजा उदाहरण हुन् ।

रुपन्देही ३ बाट राप्रपाका वरिष्ठ नेता बोहरा विजयी भए । गृहमन्त्री बालकृष्ण खाणसहित २२ जना उम्मेदवार रहेको यो क्षेत्रमा ३६ हजार सात सय १७ मत ल्याई बोहरा विजयी भएका हुन् । खाणको हारसँगै रुपन्देहीमा सत्ता गठबन्धनको प्रतिनिधि सभामा क्लिन स्विप भएको छ ।

सत्ता गठबन्धन र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा उम्मेदवार बनेका कांग्रेसका खाणले ३४ हजार ३६ मत ल्याए भने एमाले, राप्रपा र जसपाको तालमेलबाट उम्मेदवारी दिएका बोहरा दुई हजार ६ सय ८१ मतले विजयी बने ।

रुपन्देहीको पाँच क्षेत्रमध्ये सबै भन्दा ढिलो यसै क्षेत्रको मतगणना भएको छ । सबैको चासोको विषयमा रहेको यो क्षेत्रमा ९३ हजार ६ सय ६७ जनाले मतदान गरेका थिए ।

३६ वटा वडा रहेको रुपन्देही ३ मा सुरुवाती चरणबाटै खाणले अग्रता कायम गरे पनि शुक्रबारदेखि उनी पछाडि पर्दै गइरहेका थिए । ०७४ को चुनावमा कांग्रेससँगै तालमेल गरी उम्मेदवार बनेका बोहरा अहिले कांग्रेसकै उम्मेदवारलाई हराएका हुन् ।

यस्तै, प्रदेशसभा २ तर्फ १६ हजार ३ सय ९४ मतका साथ एमालेका तुलसी चौधरी विजयी भएका छन् । तीन दलीय तालमेलबाट उम्मेदवार बनेका चौधरी दुई सय एक मतान्तरले विजयी बनेका हुन । उनलाई गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकै राम चन्द्र ढकालले पछाइरहेका थिए, ढकालले १६ हजार एक सय ९३ मत ल्याए । खसेको ४९ हजार पाँच सय तीन मतमध्ये दुई हजार १ सय ५२ मत बदर भएको थियो ।

१५ पदका लागि २ सय ३ जनाको उम्मेदवारी परेको रुपन्देहीको सबै क्षेत्रमा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रुपन्देहीमा प्रतिनिधी सभामा कोही पनि निर्वाचित हुन सकेनन ।

क्षेत्र नम्बर १ मा एमालेका छविलाल विश्वकर्मा, क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेल, क्षेत्र नम्बर ३ मा राप्रपाका दिपक बोहरा, क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ला र क्षेत्र नम्बर ५ बाट एमालेकै बासुदेव घिमिरे निर्वाचित भएका हुन् ।