global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ भक्तपुर २ : महेशलाई मुस्किल, दुर्लभलाई गठबन्धनको भरथेग

भक्तपुर २ : महेशलाई मुस्किल, दुर्लभलाई गठबन्धनको भरथेग

भक्तपुर २ : महेशलाई मुस्किल, दुर्लभलाई गठबन्धनको भरथेग

भक्तपुर २ नेकपा एमालेका नेता महेश बस्नेतको निर्वाचन क्षेत्रका रुपमा चर्चित छ । गत निर्वाचनमा अत्याधिक मतसहित बाजी मारेका बस्नेतको सम्भावना अहिले पनि बलियो छ । तर गठबन्धनको साथमा काँग्रेसले टक्करकै उम्मेदवार दिएपछि बस्नेत संकटमा छन् ।

भक्तपुर २ को चुनावी प्रतिस्पर्धा अन्य ठाउँजस्तो सामान्य अवस्थाको छैन । यहाँ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र महेश बस्नेत र प्रधानमन्त्री शेरबहादुर देउवाका निकटपात्र दूर्लभ थापा टक्करको लडाईँ लड्दैछन् ।

हेर्दा हुलिया उस्तै छ, शैली उस्तै छ र उमेर पनि उस्ता उस्तै छ । उनीहरु दुवै जना दलबलको राजनीति गर्न माहिर छन् ।

निवर्तमान सांसदसमेत रहेका बस्नेत र दुई कार्यकाल पार्टीको जिल्ला सभापति खाएका थापा दुबै जित निकाल्ने दाउमा छन् । कुनै बेला एमाले नेता बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवालाई भक्तपुर दुईमा आएर आफुसँग चुनाव लड्न चुनौती दिएपछि देउवाले पनि भक्तपुरमै पुगेर थापासँग जितेर देखाउन चुनौती दिएका थिए । अहिले उनै थापालाई देउवाले टिकट दिएर बस्नेतविरुद्ध भिडाएका छन् ।

तर एमाले अध्यक्ष ओलीको निवास क्षेत्र र बस्नेतकै दलबलका कारण भक्तपुर २ एमालेले गुमाउन चाहेको छैन ।

चुनावी प्रतिस्पर्धामा उत्रिएका २६ जनामध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन भने बाँकी राजनीतिक दलका हुन् । भक्तपुर १ मा ४८ सालदेखि जित्दै आएको नेमकिपाबाट २ मा अनुराधा थापा मगर र राप्रपाबाट मोहनकुमार केसीले पनि उम्मेदवारी दिएका छन् । तर बस्नेत र थापा बाहेक अरुको चुनाव प्रचार पनि देखिएको छैन भने स्थानीयको चासो पनि अरुमा कम देखिन्छ । फलतः यी दुईमध्ये एकको जित निश्चित जस्तै बनेको छ ।

२०७४ को निर्वाचनमा बाम गठबन्धनको समर्थनसहित काँग्रेसका दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेत यसपटक दोहोरिने दाउमा छन् । तर गठबन्धनको भरथेग र आफ्नै प्रभाव विस्तार गरेका थापा पनि बस्नेतको उठीबास लगाएर संसद छिर्न खोजेका छन् ।

स्थानीयतहको निर्वाचनमा वडाले पाएको मतलाई विश्लेषण गर्दा यहाँ काँग्रेस एक्लै एमालेभन्दा बलियो छ । काँग्रेसले २५ हजार ७ सय ६४ मत प्राप्त गर्दा एमालेको २४ हजार २८५ मत थियो । त्यसमध्ये एकीकृत समाजवादीले १२ सय र माओवादीले एक हजार मत पाएका थिए । यसर्थ बस्नेतभन्दा थापालाई चुनाव जित्न सहज देखिएको छ ।

किनकि गत निर्वाचनमा आफ्नै गढका रुपमा रहेको मध्यपुर थिमि नगरपालिका गुमाएपछि काँग्रेसले प्रदेश र संघ पनि गुमाएको थियो । अहिले गठबन्धनकै बलमा शक्ति फर्काएर काँग्रेसले मध्यपुर थिमि र चागुनारायण समेत जितेको छ । तर झापा सहितका केही जिल्लामा एमालेसँग तालमेल गरेको र यही क्षेत्रमा ४ हजार बढी मत रहेको राप्रपाले साथ दिए बस्नेतको सम्भावना फर्किन पनि सक्छ ।

प्रकाशित समय : ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु