गृहपृष्ठ विद्युत पोलमा तानिएका तार व्यवस्थापन गर्न ‘अल्टिमेटम’
विद्युत पोलमा तानिएका तार व्यवस्थापन गर्न ‘अल्टिमेटम’
नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्टरनेट र टेलिफोनका तार तथा उपकरणहरू व्यवस्थापन गर्न सेवा प्रदायकहरूलाई ४५ दिनको समयसीमा दिएको छ ।
प्राधिकरणले मंगलबार सार्वजनिक सूचनामार्फत दूरसञ्चार, केवल टीभी र इन्टरनेट सेवा प्रवाहका लागि विद्युतीय पोलमा राखिने संरचनाको मापदण्ड तोक्दै सोहीअनुसार व्यवस्थापन गर्न ‘अल्टिमेटम’ दिएकाे हाे । तोकिएका मापदण्ड तार तथा उपकरणहरूलाई सेवा प्रदायहरूले ४५ दिनभित्रमा व्यवस्थित गरी प्राधिकरणको सम्बन्धित वितरण केन्द्रलाई जानकारी गराउनुपर्ने जनाइएको छ ।
आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरता समेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो संरचना निर्माण/व्यवस्थापन गर्न समयसीमासहित सार्वजनिक रूपमा आग्रह गरिएको प्राधिकरणले जनाएकाे छ । ‘तोकिएको समयमा व्यवस्थापन नगर्ने/नगराउने सेवा प्रदायकहरूको केबललगायत उपकरणहरू नेपाल विद्युत प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरण आफैँले हटाउने र यसबाट हुन सक्ने नोक्सानीको लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनुपर्ने छ,’ उनले भने ।
प्राधिकरणले अप्टिकल फाइबर/केबल र विद्युतलाइन तथा भू-सतहबीचको न्यूनतम दूरी तोकेको छ । ४०० भोल्टको नांगो तथा इन्सुलेटेड तार र केबलबीचको न्यूनतम दूरी क्रमश: ८० र ३० सेन्टिमिटर हुनुपर्नेछ । ११ केभी र ३३ केभी लाइन र केबलबीचको न्यूनतम दूरी दुई मिटर हुनुपर्नेछ । अरू ४०० भोल्टका उपकरणहरूसँगको न्यूनतम दूरी ७५ सेन्टिमिटर हुनुपर्नेछ ।
अप्टिकल फाइबर/केबल र जमिन सतहबीच पैदलमार्गमा २.४ मिटर र सडकमा ५.५ मिटर तोकिएको छ । न्यूनतम दूरी कायम नगरी सर्भिस केबलमार्फत ग्राहकलाई ‘कनेक्सन’ दिन रोक लगाइएको छ । राउटर, अप्टिकल फाइबर वितरण बक्सजस्ता उपकरणहरू पोलको एउटै मात्र भागमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गरी र सफासँग क्लिप प्रयोग गरी वाइरिङ गर्नुपर्ने जनाइएको छ ।
प्रयोगमा नरहेका तार र अरू उपकरणहरू तत्काल हटाउनुपर्नेछ । पोलहरूमा लुप बनाएर राखिएका तार तत्काल हटाउने र नयाँ तारहरू तान्दा समेत अतिरिक्त लम्बाइका लुप बनाएर पोलमा झुन्ड्याउन नपाउने व्यवस्था गरिएको छ ।
प्राधिकरणका अनुसार सेवा प्रदायकहरूले निजहरूको तार सजिलोसँग छुट्टयाउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउनुपर्नेछ । पोलमा जडित उपकरणहरूमा समेत मार्किङ गर्नुपर्नेछ । सम्भव भएसम्म धेरै कोर भएको केबल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्नुपर्नेछ । तारहरूलाई सडक वारपार तान्न रोक लगाइएको छ भने तानिएका केवलहरू हटाउनुपर्नेछ ।
सूचना :

प्रकाशित समय : १४:०३ बजे



















