गृहपृष्ठ आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त
आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त
काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त हुनुभएको छ। आइएमई लिमिटेडले आज एक कार्यक्रमकाबीच सपुतलाई आफ्नो सांगीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ। आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा निकै लोकप्रिय हुनुहुन्छ। गाउँदेखि सहरसम्म र दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उनका गीतहरू उत्तिकै रुचाइएका छन्।
रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीहरूको भावनालाई प्रकाश सपुतले आफ्ना गीत संगीत मार्फत बोल्दै आउनुभएको छ। देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको भूमिकालाई आम मानिससम्म बुझाउन सपुतको आगमनले थप मद्दत पुग्ने आइएमईको विश्वास छ।
सम्झौता कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले भन्नुभयो उहाँका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा एउटा छुट्टै आफ्नोपन थप्नेछ। साथै, उनले स्वदेश र विदेशको दूरीलाई कम गर्न संगीत सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको काम गर्ने उल्लेख गरे।
त्यस्तै, गायक प्रकाश सपुतले आइएमई जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताए। उनले विश्वभर छरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संगीतको माध्यमबाट आफ्नो माटोसँग जोडीराख्ने प्रतिबद्धता जनाए।
प्रकाशित समय : १२:०६ बजे



















