गृहपृष्ठ प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग
प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपद्वारा १० करोड सहयोग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपअन्तर्गतका कम्पनी तथा ग्रुपसँग एसोसिएट भएका कम्पनीहरूको तर्फबाट १० करोड रुपैयाँ सहयोग गरिएको बताएका छन् ।
ढकालका अनुसार उक्त रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो । उनले विपद्पछि राहत तथा उद्धारका लागि निजी क्षेत्र, आम नागरिक र सरकार सबै एकजुट हुनुपर्ने बताए ।
उनले भने, ‘ प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरू अथवा आइएमई ग्रुप एसोसिएट भएका कम्पनीहरूको एकुमुलेट अमाउन्ट १० करोडको चेक माननीय अर्थमन्त्रीज्यूलाई हस्तान्तरण गरियो ।’
उनले विदेशबाट नेपालमा रेमिट्यान्स पठाउँदा लाग्ने शुल्कसमेत सेप्टेम्बर १० सम्मका लागि निःशुल्क गरिएको जानकारी दिए । विदेशमा रहेका नेपालीले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सहज होस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको उनको भनाइ छ ।
ढकालका अनुसार हालसम्म विदेशबाट करिब २० हजार कारोबारमार्फत १६ करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा भइसकेको छ । सेप्टेम्बर १० सम्ममा करिब ५० हजार कारोबारमार्फत ३० देखि ४० करोड रुपैयाँसम्म रकम रेमिट्यान्समार्फत निःशुल्क रूपमा कोषमा आउने अनुमान गरिएको उनले बताए ।
आइएमई ग्रुपबाहेक विदेशमा रहेका साझेदार बैंक, वित्तीय संस्था तथा मनी ट्रान्सफर कम्पनीहरूले पनि रकम पठाउँदा शुल्क नलिने व्यवस्था गरेको ढकालले जानकारी दिए । यसले विदेशमा रहेका नेपालीलाई राहत कोषमा रकम पठाउन थप सहज भएको उनले बताए ।
विपद्को अवस्थामा पहिलो प्राथमिकता प्रभावितको उद्धार र घाइतेको उपचार तथा मृतकको शव व्यवस्थापन हुनुपर्ने ढकालको भनाइ छ। त्यसपछि प्रभावित क्षेत्रको पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा ध्यान दिनुपर्ने उनले बताए ।
बाढी तथा अन्य विपद्का कारण पुल तथा सडकजस्ता महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै ढकालले पछिल्लो विपद् निकै ठूलो स्तरको रहेको बताए। आफ्नो अनुभवमा भूकम्प तथा कोभिड–१९ को समयबाहेक यस्तो स्तरको विपत्ति विरलै देखिएको उनको भनाइ थियो ।
प्रभावित नागरिकले प्रत्यक्ष रूपमा राहत महसुस गर्ने गरी सरकार, आम नागरिक र निजी क्षेत्र एक भएर सहयोग गर्नुपर्नेमा ढकालले जोड दिए ।
प्रकाशित समय : १९:२० बजे

















