गृहपृष्ठ फ्ल्यास फ्लड पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग
फ्ल्यास फ्लड पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमएडब्ल्यू ग्रुपको १ करोड ११ लाख सहयोग
काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी फ्ल्यास फ्लडबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि एमएडब्ल्यू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
हालै आएको बाढीले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन तथा आफ्ना प्रियजनसमेत गुमाएका छन्।
प्रभावित परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग पुर्याउन उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको एमएडब्ल्यू ग्रुपले जनाएको छ। उक्त सहयोगले बाढीबाट प्रभावित भई आफ्नो जीवन पुनःनिर्माणको प्रयासमा रहेका परिवारलाई केही राहत पुग्ने विश्वास कम्पनीले लिएको छ।
एमएडब्ल्यू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले कठिन परिस्थितिमा कम्पनी सधैं राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आएको बताए।
‘यस्ता कठिन परिस्थितिमा कम्पनीले सधैं राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको छ,’ उनले भने।
अग्रवालले बाढीबाट प्रभावित परिवारले भोगेको पीडा कुनै पनि आर्थिक सहयोगले पूर्ण रूपमा मेटाउन नसक्ने उल्लेख गर्दै कठिन समयबाट गुज्रिरहेका परिवारलाई उक्त सहयोगले केही राहत पुग्ने विश्वास व्यक्त गरे।
फ्ल्यास फ्लडबाट भएको क्षतिको असर देशका विभिन्न समुदायमा परेको र पुनर्स्थापनाको यात्रा सहज नरहेको कम्पनीले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध गराइएको सहयोगले प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन तथा पुनर्स्थापनाको काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एमएडब्ल्यू ग्रुपले नेपालले संकटको सामना गरेका विभिन्न समयमा प्रभावित नागरिकको साथमा उभिएर सहयोग गर्दै आएको जनाएको छ। यसपटकको सहयोग पनि राष्ट्रलाई आवश्यक परेको समयमा नेपाली जनताको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धताको निरन्तरता भएको कम्पनीको भनाइ छ।
कम्पनीले बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ। साथै घर तथा जीविकोपार्जनका साधन गुमाएका सबै प्रभावितप्रति गहिरो सहानुभूति प्रकट गर्दै वर्तमान समय र आगामी दिनमा पनि नेपाल तथा नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता जनाएको छ।
एमएडब्ल्यू ग्रुपले देशभर राहत तथा उद्धार कार्यमा खटिरहेका सुरक्षाकर्मी, सरकारी निकाय, स्वयंसेवक तथा अन्य सबैप्रति आभारसमेत व्यक्त गरेको छ।
प्रकाशित समय : १८:२७ बजे


















