गृहपृष्ठ सडकमा बसेर बैंकमा पालो कुदै वृद्धवृद्धा
सडकमा बसेर बैंकमा पालो कुदै वृद्धवृद्धा
जाजरकोटको भेरी नगरपालिकाले बैंकमा जम्मा गरिदिएको सामाजिक सुरक्षा भत्ता बुझन यहाँका वृद्धवृद्धाहरु सडकमा बसेर पालो कुरिरहेका छन् । बैंकमा बस्ने ठाउँ नहुँदा वृद्धवृद्धाहरु सामाजिक सुरक्षा भत्ता सडकको भुँइमा बसेर पालो कुर्न बाध्य भएका हुन् । तीन घण्टाभन्दा बढी हिडेर बैंकमा आएका जेष्ठ नागरिकहरुले पालो नपाउँदा भुँइमा बसेर सेवा लिन बाध्य भएको बताएका छन् ।
बैंकको अगाडि साना हलुका सवारी साधन रोक्ने र टिकट काट्ने ठाउँसमेत रहेको सिटिजन्स बैंक अगाडि सेवा लिन पुगेका जेष्ठ नागरिकहरु चिसो भुँइमा बसेर हैरानी खेप्नु परेको छ । घरमा लिएर भत्ता बुझाइदिएको भए यति धेरै दुख गर्नुपर्ने अवस्था नहुने भेरी १ रिम्नाकी पबी रानाले बताइन् ।
बुढेसकालमा भत्ता बुझन नै बैंकमा आएर लाइन लाग्नु पर्ने , ठाउँ नभएर सडकमा बस्नु पर्ने बाध्यता नहुने उनले बताए । बैंकले बस्ने व्यवस्थापन नगर्दा आफूहरुले समस्या खेप्नु परेको अर्का जेष्ठ नागरिक रामबहादुर ओलीले बताए ।
सिटिजन्स बैंकले भेरी नगरपालिका १ र ३ का झण्डै ९०० जना जेष्ठ नागरिकलाई भत्ताको भुक्तानी दिँदै आएको म्यानेजर टरर्जन अधिकारीले बताए । उनका अनुसार सुरुमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिल्लाकै पहिलो बैंक सिटिजन्स रहेको दाबी छ । एकै पटक धेरै व्यक्ति आउने भएकाले समस्या भएको उनले बताए ।

प्रकाशित समय : ०८:२० बजे



















