गृहपृष्ठ एक दशकपछि पाए ३१० परिवारले जग्गाधनी पुर्जा

एक दशकपछि पाए ३१० परिवारले जग्गाधनी पुर्जा

एक दशकपछि पाए ३१० परिवारले जग्गाधनी पुर्जा

धनुषा। नापनक्सा सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका ३ का ३१० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन्। गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापी कार्यालयले आज उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो।

साबिक मिथलेश्वर महुवाही गाउँ विकास समितिले १ देखि ९ वडासम्म पर्ने गाउँ ब्लक जग्गाको नापनक्सा आर्थिक वर्ष २०७२र७३ मा सम्पन्न भएको थियो। नापनक्सा सम्पन्न भए पनि आवश्यक अभिलेख अद्यावधिक, दर्ता तथा अन्य कानुनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गाधनी पुर्जाबाट वञ्चित हुँदै आएका थिए।

नापी कार्यालयले नापनक्सा भइसकेका जग्गाको अभिलेख अद्यावधिक गरी दर्तासम्बन्धी प्रक्रिया अघि बढाएपछि ३१० थान जग्गाधनी पुर्जा वितरण गरिएको जनाएको छ। वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको औपचारिक स्वामित्वको प्रमाण पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। पुर्जा प्राप्त भएपछि आफ्नो सम्पत्तिको स्वामित्व प्रमाणित गर्न सहज हुने तथा जग्गासम्बन्धी विभिन्न प्रशासनिक र आर्थिक कारोबार गर्न बाटो खुलेको स्थानीयको भनाइ छ।

नापी कार्यालयका प्रमुख उमेशकुमारले नापनक्सा सम्पन्न भएर पनि विभिन्न कारणले दर्ता प्रक्रिया अघि बढ्न नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधानलाई कार्यालयले प्राथमिकतामा राखेको बताए। उनका अनुसार नापनक्सा सम्पन्न हुँदैमा जग्गाको स्वामित्व पूर्ण रूपमा स्थापित नहुने भएकाले त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

Arghakhachi cementShree Steel
स्थानीयको सहभागिता, आवश्यक कागजात तथा अन्य प्रक्रिया पूरा हुँदै गएमा लामो समयदेखि बाँकी रहेका यस्ता विषयलाई क्रमशः टुङ्ग्याउँदै जग्गाधनी पुर्जा वितरण गरिने उनले बताए। गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गा लामो समयदेखि स्थानीयले भोगचलन गर्दै आए पनि औपचारिक स्वामित्वको प्रमाण नहुँदा उनीहरू विभिन्न समस्या झेल्दै आएका थिए।

जग्गाधनी पुर्जा प्राप्त भएपछि सम्पत्तिको कानुनी अधिकार सुनिश्चित हुनाका साथै जग्गासम्बन्धी कारोबार तथा प्रशासनिक काममा पनि सहज हुने अपेक्षा गरिएको छ। नापी कार्यालयका अनुसार साबिक मिथलेश्वर महुवाही गाविसअन्तर्गत नाप नक्सा सम्पन्न भएका तथा हाल मिथिला बिहारी नगरपालिका(३ मा पर्ने गाउँ ब्लकका ३१० परिवारलाई पुर्जा वितरण गरिएको हो।

कार्यालयले धनुषाका अन्य क्षेत्रमा पनि नाप नक्सा सम्पन्न भएर दर्ता प्रक्रिया पूरा हुन बाँकी गाउँ ब्लक तथा स्ववासी जग्गाको विवरण अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ। यसबाट लामो समयदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा रहेका अन्य परिवारलाई पनि राहत पुग्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित समय : २०:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु