global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ सरकारको घैँटोमा घाम लागोस्

सरकारको घैँटोमा घाम लागोस्

सरकारको घैँटोमा घाम लागोस्

‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिज सिंहमाथि प्रहरीले जुन व्यवहार गर्दै आएको छ, त्यसले नेपालको राज्य संयन्त्र कसले, कहाँबाट र कसरी सञ्चालन भइरहेको छ ? भनेर प्रश्न उठेको छ ।

पटक-पटक सार्वजनिक रुपमै माफी मागिसक्दा पनि र युट्युब च्यानलबाट भिडियो हटाइसक्दा पनि अपूर्वमाथि राज्य संयन्त्र जुन शैलीले प्रस्तुत भइरहेको छ, त्यसले हाम्रो राज्य सयन्त्र कति नालायक छ भन्ने पुष्टि गर्छ ।

नेवारी समुदायमाथि गरेको एउटा कमेडीलाई लिएर उजुरी परेपछि अपूर्वलाई यसअघि नै १२ दिन प्रहरीले हिरासतमा राखिसकेको हो । दोस्रो पटक पनि उही बिषयलाई लिएर अपूर्वलाई फेरि हिरासतमा राखिनुको औचित्य देखिँदैन । किनकी, यसअघि जमानीमा छाडिएका र असोज ३१ मा आफैं हाजिर हुन आएका अपूर्वलाई फेरि थुनामा राख्नुको कारण के हो ? भन्नेबारे प्रहरीले सार्वजनिक रुपमा केही बोलेको छैन ।

के प्रहरीले विवेक गुमाएको हो ? वा कसैको उक्साहटमा अपूर्वमाथि पुर्वाग्रही भएर प्रस्तुत भएको हो ? जवाफ त राज्यले दिनैपर्छ । हो, अपूर्वले नेवार समुदायको चित्त दुख्नेगरी कमेडी गरेकै हुन् । उनलाई यस कुराको बोध पनि भएको देखिन्छ । दुई हात जोडेर उनले माफी पनि मागे । भिडियो पनि हटाए । हिरासत पनि भोगे । तर यति गर्दागर्दै पनि उनलाई मानसिक रुपमा हदैसम्म गलाउने प्रहरीले जुन जालो बिछ्याएको देखियो, त्यसले राज्य संयन्त्र चुकेको संकेत गर्छ । उनले जे गल्ती गरे, त्योभन्दा बढी सजाय भोगिसकेका छन् । उनीमाथि साँच्चै नै ज्यादती भएको छ । अति गरे त्यसको परिणाम खती हो भन्ने कुरा राज्यले बुझ्न ढिलो गर्दा त्यसको नकारात्मक असर पर्ने हाम्रै समाजमा हो ।

अपूर्वको बिषयलाई हाम्रो राज्य संयन्त्र नै साम्प्रदायिक रङ दिने कुत्सित नियतसाथ अघि बढ्न खोजेको हो भने त्यसले कस्तो परिस्थिति निम्त्याउला ? हेक्का होस, सरकार । होइन भने सरकारले भनोस- अपूर्व लोकतन्त्र, गणतन्त्र र यो संविधानका लागि खतरा हुन् । नत्र राज्यले गर्ने पटमुर्ख्याईंलाई जनताले सर्वस्वीकार्य मान्ने दिन त राणा शासनको अन्त्यसँगै बिदा भइसकेको नबिर्सौं ।

राज्य संयन्त्रको दुरुपयोग गरेर जसरी अपूर्वमाथि अन्याय गर्न खोजिएको छ, त्यसको छिनोफानो सम्मानित अदालतले गर्ने नै छ । किनकी, यो बिषयमा अपूर्वलाई बिनासर्त रिहा गर्नुपर्छ भन्ने कुरा बुझ्न कानूनको नौ सिङ पढिरहनु पर्दैन । तर यति हुँदाहुँदै पनि राजनीतिक पंक्ति र अभियानकर्मीहरुको मुखमा बुझो लागेको देख्दा उदेक लाग्छ ।

तर पनि आशा गरौं- घामको उज्यालो रहेसम्म हाम्रो राज्य, नेता र अभियन्ताको घैँटोमा घाम लागि पो हाल्छ कि !

प्रकाशित समय : १५:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु